जानकारी लिएर मात्रै विद्युतीय कार्ड लिन राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय कार्डहरु लिँदा सोसँग सम्बन्धित विषयबारे जानकारी लिएर मात्रै कार्ड लिन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागी एक सन्देश जारी गर्दै कुनैपनि वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा आवश्यक जानकारी प्रदान गर्नुपर्ने बताएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता विद्युतीय कार्ड जारी गर्दा, आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

त्यसैले, विद्युतीय कार्डसम्बन्धी सेवा लिनुपूर्व त्यसबापत लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाजस्ता विषयबारे आवश्यक जानकारी लिनुपर्ने बताएकाे छ । साथै, क्रेडिट कार्डको सन्दर्भमा त्यस्तो कार्ड प्रयोग गरी उपयोग गरिएको रकममा लाग्ने ब्याजसम्बन्धी व्यवस्थालगायतका विषयमा आवश्यक जानकारी लिने गर्नुपर्ने उल्लेख गरेकाे छ ।