मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आज, बोर्ड बैठक बस्दै


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आज सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले पहिलो त्रैमासको मौद्रिक नीति समिक्षा आज सार्वजनिक गर्ने भएको हो ।

मौद्रिक नीति समिक्षा सार्वजनिक गर्न राष्ट्र बैंकले बोर्ड बैठक पनि डाकेको छ । राष्ट्र बैंकका एक सञ्चालककाअनुसार आज नै बैंक बोर्डले मौद्रिक नीति समिक्षा पारित गरेपछि सार्वजनिक हुनेछ । पहिलो त्रैमासिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेका कारण पनि केन्द्रीय बैंकले आज अर्थात् मंसिर १५ गते मौद्रिक नीति समिक्षा सार्वजनिक गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति समीक्षामा लचिलो नीति लिने संकेत गरेका छन् । पौडेलले सार्वजनिक फोरमबाट बैंक तथा वित्तीय संस्थामाथि परेको दबाब र बढ्दो निष्क्रिय कर्जालाई घटाउँदै लगानी बढ्ने किसिमको नीति लिनुपर्ने अवस्था रहेको बताउँदै आएका छन् । जसकारण पनि उनले अर्थतन्त्र चलायमान बनाउनेगरी मौद्रिक नीतिको समीक्षा गर्ने अपेक्षा गरिरहेका छन् ।