सडक बनाउन स्थानीयको दश लाख सहयोग


म्याग्दी – आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौंमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको १० लाख रुपैयाँ धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पु¥याउन पालिकालाई प्रदान गरिएको हो।

यसअघि गुर्जाको ख्याली नाच समूहले एक लाख रुपैयाँ र हिमाली आमा समूहले दुई लाख रुपैयाँ सहयोग गरेका थिए । गुर्जामा सडक पुर्याउन सङ्घ सरकारले एक करोड ४० लाख रुपैयाँ , गाउँपालिकाले ३५ लाख रुपैयाँ, सहरी विकास मन्त्रालयबाट तीन करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।