सरकारलाई ओलीको प्रश्न दुर्गा प्रसाईँलाई थुनेर आफ्नो अपराध लुक्छ ?


काठमाडौं – नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका आफ्ना कर्तुत लुकाउन दुर्गा प्रसाईँलाई पक्राउ गरेको बताएका छन्।

बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए।

राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईँलाई समाउनु मानव अधिकारको उल्लङ्घन हो भनिसकेको अवस्थामा सरकारले उनलाई थुनिराख्न नमिल्ने अध्यक्ष ओलीले बताए।

दुर्गा प्रसाईँले दिउँसो भिडियो सार्वजनिक गरेकामा राति सुतिरहेको बेला समातेको बताउँदै उनले दुर्गाप्रसाईँले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन ? भन्दै प्रश्न गरे। प्रश्नको जवाफ थुनेर नहुने उनले बताए । ‘गिरफ्तार गरेर, मुख बन्द गरेर समस्या समाधान हुँदैन, म सरकारलाई भन्छु–दुर्गा प्रसाईँलाई तुरुन्त छाड्नुस्, बोलेको भरमा थुन्न पाइन्छ ?’, ओलीले प्रश्न गरे ।