प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच अपराध अनुसन्धान सम्बन्धी एकदिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। अपराध अनुसन्धान विभागको ७०औं स्थापना दिवस, २०८२ को अवसरमा उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो। 

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धान विभागका पूर्व प्रमुख एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहलाई सम्मान गरेका छन्। साथै उनले  अपराध अनुसन्धान विभागद्वारा प्रकाशित सीआइडी २०८२ को विमोचन समेत गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले यस अन्तरक्रिया कार्यक्रममा सबैको सक्रियतापूर्ण सहभागिताले अपराध अनुसन्धान सम्बन्धी समसामयिक पक्षहरू, अपराधका प्रकृतिहरू, प्रहरी क्रियाशीलता र प्रविधिको विधि सम्मत प्रयोग, कानून कार्यान्वयनका नवीन तौरतरिका समेतका विषयमा गहिरो विचार विमर्श गरी अपराध अनुसन्धानको मूल दायित्व बोकेको नेपाल प्रहरीलाई मार्गनिर्देश गर्न महत्वपूर्ण एवम् प्रभावकारी हुने विश्वास लिएको बताए। अन्तरक्रिया तथा छलफल कार्यक्रममा समसामयिक आपराधिक घटनाहरूको अध्ययन विश्लेषणका साथै विद्युतीय र आर्थिक अपराधका घटनाहरूको तुलनात्मक अध्ययन विश्लेषण र आगामी दिनमा बढ्न सक्ने अपराधका सम्भावित घटनाहरू विश्लेषण समेतमा गहिरो छलफल हुने अपेक्षा लिएको उनले बताए। 

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक सुरक्षा व्यवस्थामा चुनौती बढिरहेको उल्लेख गर्दै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा सङ्गठित अपराधहरूका अनुसन्धानमा समेत क्षमता विकासको उत्तिकै आवश्यकता रहेको बताए। फैसला कार्यान्वयन र फरार प्रतिवादीहरूको खोजतलास र पक्राउलाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न एवम् विगतमा घटेका अपराधका घटनाहरू तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित सबै अपराध अनुसन्धान क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन समेत दिए। 

प्रहरी महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानुन विपरीत कार्य गर्नेहरूलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा प्रहरी प्रतिको प्रतिष्ठा एवम् विश्वास समेत अभिवृद्धि गर्ने उल्लेख गर्दै सूचना सङ्कलन एवम् विश्लेषण गरी सम्भावित अपराधको नियन्त्रण तथा घटित अपराधको अनुसन्धान गर्न र कानुन कार्यान्वयनको माध्यमले कानुनी शासनको प्रत्याभूति गर्ने हुनाले सबै प्रहरी कर्मचारीहरूको थप क्रियाशीलता जरुरी रहेको बताए।