सुनका गहना चोरीको अभियोगमा एक युवती प्रक्राउ 

सुनका गहना चोरीको अभियोगमा एक युवती प्रक्राउ 


बैकिङ्ग समाचार,काठमाडौं ।

सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

बेशीसहर नगरपालिका–७ की सुजा घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार गत वैशाख २५ गते बेँसीसहर नगरपालिका– ८, क्याम्पस रोड र साउन ३० गते सोही वडाको न्युएरा बोर्डिङ स्कुलनजिकैबाट करिब २३ तोलाबराबरको सुनका विभिन्न गरगहना चोरी भएको उजुरी परेको थियो । उजुरी परेपछि प्रहरीले जिल्लामा चोरीका घटना बढ्दै गएको भन्दै चोरी कार्यमा संलग्न व्यक्तिको खोजीमा तीव्रता बढाएको थियो ।

पक्राउ परेकी घिमिरेको साथबाट प्रहरीले रानीहार थान एक, सुनको वाला थान दुई, सुनको रातो पत्थरजडित औँठी थान दुई, सुनको औँठी थान दुई, सुनको सिक्री थान एक, सुनको मिनीहार थान एक, सुनको टप थान चार, सुनको पत्थरजडित टप थान दुई, सुनको गणेशको मूर्ति लकेट थान एक, सुनको झुम्का थान दुई बरामद गरेको जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले दुई ठाउँबाट सुन चोरी गरेको खुलेको छ । प्रहरीमा क्याम्पस रोडको गंगा र जमुना रिमाल दिदीबहिनीको र न्यु इरा बोर्डिङ स्कुलनजिकै बालकुमारी घिमिरेको घरबाट सुन चोरी भएको उजुरी परेको थियो ।

उजुरीलाई आधार मानेर सूक्ष्म अनुसन्धान गर्दै जाने क्रममा घिमिरेविरुद्धको प्रमाणहरू जुटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी घिमिरेलाई सोमबार लमजुङ जिल्ला अदालतबाट पाँच दिनको  म्याद थप अनुमति लिई निजउपर चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।