काठमाडौं – बैंकिङ्ग प्रणालीमा एकैदिन ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कार्तिक १४ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो।
सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ४ अर्बले बढेर ७४ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् कार्तिक १३ गते बैंक तथा वित्तीय संस्थामा ७४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। राष्ट्र बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा पनि ३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय संस्थामा ७ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप रहेको छ।
अघिल्लो दिनसम्म ६७ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६७ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा प्रवाह भने स्थिर रहेकाे छ। बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५६ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५० खर्ब १४ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २२ अर्ब रुपैयाँ रहेकाे छ ।
समिक्षा अवधिमा अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडी रेसियो ७४.४७ प्रतिशतको बिन्दुमा झरेको छ ।






About Us
प्रतिक्रिया