राजश्व छली नक्कली चुरोट बिक्री गर्ने एक जना पक्राउ


काठमाडौं – बिना बिलको नक्कली चुरोट कारोबार गर्दै गरेको अवस्थामा सुर्खेतमा एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकस्थित मेसी स्टोर मा नक्कली चुरोट बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले उक्त स्टोरमा छापा मारेको थियो।

छापामा सोही स्थानका ३५ वर्षीय जिवन कुमार शाही पक्राउ परेका छन्। प्रहरीले शाहीको स्टोरबाट खुकुरी ब्रान्डका २५ डण्डा (५०० बट्टा) र खुला ४ बट्टा गरी जम्मा ५०४ बट्टा नक्कली चुरोट बरामद गरेको जनाएको छ। बरामद चुरोट र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।