काठमाडौं – बैंकिङ्ग प्रणालीबाट एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएकाे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कार्तिक ११ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप बाहिरिएकाे हो ।
सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन १४ अर्बले घटेर ७४ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिन अर्थात् कार्तिक १० गते बैंक तथा वित्तीय संस्थामा ७४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । राष्ट्र बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा पनि १४ अर्ब रुपैयाँले निक्षेप बाहिरिएकाे छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ।
अघिल्लो दिनसम्म ६७ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप घटेर ६७ खर्ब १७ अर्ब रुपैयाँ कायम भएकाे छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५६ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५० खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । समिक्षा अवधिमा अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडी रेसियो ७४.५३ प्रतिशतको बिन्दुमा झरेको छ ।






About Us
प्रतिक्रिया