प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई प्रहरीको हत्या गर्ने ५ जना पक्राउ 


काठमाडौं – जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ । उक्त आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए ।

पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले कुटपिट गरेर महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्या गरेको खुल्न आएको छ ।  यसअघि नै प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका थिए । 

जेनजी प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट राय र थापाको मृत्यु भएको थियो । उनीहरूले राय र थापालाई जबरजस्ती कार्यालयबाट तानेर बाहिर निकालेर  कार्यालय नजिकै रहेको भाटभटेनी सुपरस्टोरको पर्खालछेउमा लगेर सामूहिक रूपमा कुटपिट गरेका थिए।

कुटपिटपछि दुवै प्रहरी गम्भीर रूपमा घाइते भएर अचेत बनेका थिए। त्यसपछि उनीहरूलाई मुख्य सडकको बीचमा घिसारेर लगिएको र त्यहाँ पनि पुनः कुटपिट जारी राखिएको थियो ।