काठमाडौं – प्रहरीले धारिलो हतियार देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
आइतबार पोखरा–२२ अनदु जंगलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टिन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाई हातपात गरी अभद्र व्यवहार गरेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई घटनामा संलग्न व्यक्तिहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नवीन विक र तनहुँ व्यास नगरपालिका– ५ का २१ वर्षीय विशाल दर्लामी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता बस्नेतले बताए ।



About Us
प्रतिक्रिया