२–१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन


काठमाडौं – प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा सञ्चालित २–१७९औँ समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरे ।

सो अवसरमा खापुङले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७९औँ समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको ‘स्मृतिकुन्ज’ पुस्तक समेत विमोचन गरे। सो अवसरमा  खापुङले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रशिक्षणको अवधिमा मेहनत, लगन र त्यागबाट आर्जन गरेको आधारभूत ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने बताए ।

आ–आफ्नो कार्यक्षेत्रमा कुनै पनि लोभ, लालच, भय र त्रासबाट मुक्त रही अन्यायमा परेका पीडित र संकटमा परेका नागरिकको सेवा गर्दै राष्ट्र सेवामा प्रखर रूपमा प्रस्तुत हुन उनले दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिए । 

खापुङले जस्तो सुकै परिस्थितिमा पनि नेपाल प्रहरीले अग्र पङ्क्तिमा रही उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै कठिन घडीमा पनि आम नागरिकलाई सेवा र सुरक्षा दिलाउनुका साथै विगतका त्रुटिहरूको विश्लेषण गर्दै विचलित नभई कानुन बमोजिम गर्नुपर्ने कारबाहीमा व्यावसायिक दृढताका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

सुरक्षा एक अनुभूति भएको र आम नागरिकले प्रहरी प्रति बनाएको धारणाले सुरक्षामा गहिरो अर्थ राख्ने उल्लेख गर्दै प्रहरीको कर्म र धर्म नै नागरिक सेवा र सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गरी असल आचरण र बोली वचन सहित पूर्ण व्यावसायिक भई जनअपेक्षा अनुरूप कर्तव्य निर्वाह गर्नु पर्ने उनले बताए ।  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराए  ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक ९ गतेदेखि सञ्चालित उक्त तालिममा ५३ जना महिला सहित कुल ३ सय ७७ जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिए। कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ–आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गरे ।