निर्जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन ४० अर्ब ५७ करोड


बैंकिङ्ग समाचार, काठमाडौं । 
१४ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० मा कुल ४० अर्ब ५७ करोड ५२ लाख ३० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा २८ लाख १६ हजार २२४ वटा बीमा पोलिसीहरु विक्री गरी ४० अर्ब ५७ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३.५९ प्रतिशतले मात्रै धेरै हो । गत आर्थिक वर्षको असारसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा  रहेको छ ।  शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ५२ करोड २१ लाख ७० हजार रूपैयाँ बीमाशुल्क उठाएको छ । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चार अर्ब ५५ करोड २३ लाख २० हजार रूपैयाँ उठाएर धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीको सूचीमा दोस्रो स्थानमा छ । अघिल्लो आर्थिक वर्षमा सगरमाथाले चार अर्ब ६९ करोड छ लाख ७० लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

तेस्रो ठूला बीमाशुल्क संकलन गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ५१ करोड ६६ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सले पनि बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति गरेको छ। कम्पनीले असार मसान्तसम्म ३ अर्ब ४२ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेको छ।

यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरि, नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड २४ लाख २ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ४० करोड ५४ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३७ करोड २३ लाख २६ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ३२ करोड ४४ लाख ८९ हजार, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड ८७ लाख ७७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड ५८ लाख ८६ हजार रुपैयाँ, ओरियण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५० लाख २० हजार रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड ८३ लाख ३१ हजार रुपैयाँ ,आइजीआई प्रुडेन्सिलयले ३ अर्ब ३९ करोड रुपैयाँ, कुल बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ ।

एघार कम्पनीले बीमाशुल्क बढाए,

गत आवमा प्रभु इन्स्योरेन्सले सर्वाधिक २२.२० प्रतिशतले वृद्धि गरेको छ । सानिमा जीआईसी १९.४८ प्रतिशत, नेशनल इन्स्योरेन्स १२.३२, शिखर इन्स्योरेन्स १०.३२ प्रतिशतले बढेको छ ।

यस्तै आईजीआई प्रुडेन्सियलको ९.१४ प्रतिशत, यूनाइटेड अजोड ६.५३, दी ओरियण्टल इन्स्योरेन्स ५.७७, नेको इन्स्योरेन्स २.४०, हिमालयन एभरेष्ट इन्स्योरेन्स २.११, एनएलजी इन्स्योरेन्स १.४५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको बीमाशुल्क सबैभन्दा कम ०.३७ प्रतिशतले बढेको छ ।

तीन कम्पनीको बीमाशुल्क घट्यो
प्राधिकरणको तथ्याङ्क अनुसार तीन कम्पनीको बीमाशुल्क भने घटेको छ । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमाशुल्क भने अघिल्लो आवको तुलनामा घटेको हो । राष्ट्रिय बीमा कम्पनीको १०.३८ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.०८ र सगरमाथा लुम्बिनीको बीमाशुल्क २.९५ प्रतिशतले घटेको हो ।