रिक्त डिआइजी पदको बढुवामा १६ जना एसएसपीको कडा प्रतिस्पर्धा सुरु, पहिलो वरीयतामा विश्व अधिकारी


काठमाडौं – नेपाल प्रहरीको चार वटा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा भएपछि हाल साे पद रिक्त रहेको छ । रिक्त पदहरूमा बढुवा प्रक्रिया अगाडि बढाउने गृह मन्त्रालयको तयारीसँगै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरू माझ कडा प्रतिस्पर्धा सुरु भएको हो ।

नेपाल प्रहरी सङ्गठनभित्र रिक्त रहेका उक्त डिआइजी पदहरूमा बढुवा गर्न १६ जना एसएसपीबीच कडा प्रतिस्पर्धा सुरु भएको छ । तर, नेपाल प्रहरीमा चार वटा मात्र डिआइजी पद खाली रहेका छन् । त्यसैले गर्दा यस पटकको बढुवा प्रक्रियाले प्रहरी संगठनको आन्तरिक शक्ति सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व, र भावी नेतृत्व निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको निर्णयअनुसार असोज १२ गते चार जना डिआइजीहरू – सुशील कुमार राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर विक एआईजीमा बढुवा भएका थिए । उनीहरूको बढुवापछि लगत्तै चार वटा डिआइजी पद खाली भएको हो । 

मन्त्रालयले ती पदहरू पूर्ति गर्न चाँडै सिफारिस प्रक्रिया अघि बढाउने तयारी गरे पनि हालसम्म औपचारिक प्रक्रिया सुरु भएको छैन । बढुवा सूचीको पहिलो वरीयतामा विश्व अधिकारी रहेका छन्, भने दोस्रो नम्बरको वरीयतामा भूपेन्द्र खत्री रहेका छन् । त्यस्तै, सानुराम भट्टराई, शेखर खनाल, गंगा पन्तको डिआइजीमा बढुवा हुने सम्भावना बढी रहेको छ । 

प्रहरी संगठनभित्रको अब्बल प्रहरीका रूपमा भएकाले गर्दा परिचित विश्व अधिकारी, भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, गंगा पन्त डिआईजीको बढुवा पक्रियामा समेटिने सारोकारवालहरुको आङ्कलन रहेको छ ।

त्यसबाहेक वरीयताका हिसाबले  छैटौँमा अभिनारायण काफ्ले, सातौँमा सोमेन्द्रसिंह राठौर, आठौँमा मुकुन्द मरासिनी र नवौँमा दीप शमशेर जबरा रहेका छन्। साथै, दशौँ स्थानमा गोपालचन्द्र भट्टराई, ११ औँमा प्रविण पोखरेल, १२ औँमा गंगा पन्त र १३ औँ स्थानमा कृष्णबहादुर पल्लीमगर १४ औँमा,१५ औँमा तारादेवी थापा र १६ औँ स्थानमा प्रज्वल महर्जन रहेका छन् । 

यी सबै अधिकारीहरू २०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेका एउटै ब्याचका हुन, जसका कारण बढुवा प्रक्रिया झनै प्रतिस्पर्धात्मक बन्न पुगेको छ। वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता लगायतका मापदण्डका आधारमा छानिनुपर्ने भएकाले कसले बाजी मार्ला भन्नेमा चासो बढेको छ।

साथै, यी सबै एसएसपीहरू २०८० साल वैशाख १५ गते एकै पटक बढुवा भएका अधिकृतहरू हुन् । उनीहरू एउटै ब्याचका अधिकारी भएकाले आपसी प्रतिस्पर्धा थप चर्किएको छ । अब रिक्त डिआइजी पदहरूमा बढुवा गर्दा वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता लगायतका मापदण्डहरूलाई आधार मानिने भएकाले गृह मन्त्रालयले चाँडै बढुवा प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।