गृहसचिव रामेश्वर दंगालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन


काठमाडौं – गृहसचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् । गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे। 

सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे । निरीक्षण पश्चात् आयोजित कार्यक्रममा गृहसचिव दंगालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरे । मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए। 

गृहसचिव दंगालले गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा क्षति भएका प्रहरीका संरचनाहरू तथा विस्थापित भएका प्रहरीहरूलाई पुनर्स्थापित गर्ने कार्यमा आम नागरिक समुदायबाट स्वतःस्फूर्त रूपमा भएका सहयोगहरू सराहनीय रहेको र यसले नेपाल प्रहरी प्रति जनताको आशा एवम् भरोसा उजागर गरेको उल्लेख गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न अझ व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्ने बताए । नजिकिँदै गरेको चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गरी प्रहरी परिचालन गर्नुका साथै आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्नुपर्ने उनले बताए । प्रहरी सङ्गठनको समयानुकूल संस्थागत विकास, सुदृढीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने कार्यमा गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले देशको संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्र, मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको परिधिभित्र रहँदै नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताए । 

गृह सचिवबाट व्यक्त भएका समयसापेक्ष र व्यावसायिक निर्देशनलाई नेपाल प्रहरीका सकल दर्जाले हृदयंगम गरी कार्यक्षेत्रमा लागु गर्ने उनले बताए । प्रहरीको क्षमतामा राज्यको प्रभावकारिता प्रतिबिम्बित हुने वास्तविकतालाई मनन गर्दै सङ्गठन र यसमा आबद्ध जनशक्तिको क्षमता, दक्षता एवम् मनोबल अभिवृद्धिसँगै स्रोत साधनको उपलब्धतामा गृह सचिवबाट निरन्तर पहल हुने विश्वास उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका कर्मठ सदस्यहरूले देशले बेहोरेको कठिन परिस्थितिहरूमा विचलित नभई राज्यप्रतिको जिम्मेवारी पूरा गरेको र भविष्यमा पनि अझ समर्पण भावका साथ दायित्व निर्वाह गरिरहने  बताए । 

हालको परिस्थिति र आगामी दिनहरूमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरू र असहज परिस्थितिहरूको सामना गर्न, आम नागरिकलाई शान्ति सुरक्षा, अमन चयनको प्रत्याभूति दिलाउन र आफ्नो निस्वार्थ सेवामार्फत नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध रहेको उनले बताए ।