दुबई । एफवान सफ्ट इन्टरनेशनल ग्रुपका अध्यक्ष तथा फिल्पसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वास ढकालले भविष्यमा पैसा टोकनमा परिणत हुन सक्ने उच्च सम्भावना रहेको बताएका छन् । उनले विश्वले प्रविधिमा तीव्र फड्को मारिरहेकाले पैसा नै टोकनमा परिणत हुने सम्भावना उच्च रहेको बताएका हुन् ।
यस्तो छ संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजित दुई दिने ‘Futurists X Summit’ मा प्यानलिस्टकारुपमा बोल्दै उनले राखेको मन्तव्यको संपादित अंशः–
पैसालाई टोकनमा रूपान्तरण गर्ने काम वा भनौँ यो परिवर्तन रातारात सम्भव हुँदैन । तर, भविष्यमा यसतर्फ जान सक्ने सम्भावना उच्च छ । उदाहरणका लागि अहिले अमेजनका ‘वाक–इन’ स्टोरहरूमा सामान किन्दा ‘क्यासियर’ वा ‘क्यास काउन्टर’ छैन, सबै स्वचालित रूपमा भुक्तानी हुन्छ । त्यसरी नै हामीसँग स्वचालित कार हुन्छ भने त्यससँगै स्वचालित चार्जिङ स्टेसन पनि चाहिन्छ । स्वचालित कारलाई जसरी रोबोट मानिन्छ, त्यस्तै स्वचालित चार्जिङ स्टेसन पनि एक किसिमको रोबोट हो ।
मलाई लाग्छ, वालेटले सेवा प्रदान गर्ने क्षेत्र र यसको दायरा भविष्यमा अझै ठुलो हुनेछ । यसको सबैभन्दा राम्रो पक्ष के हो भने यो कुनै एउटा मात्र वित्तीय संस्थामा सीमित रहनु पर्दैन । र, यसले फराकिलो रूपमा सहकार्य गर्ने क्षमता राख्छ । यस्तो अवस्थामा जब प्रतिस्पर्धाभन्दा बाहिर गएर हामी आफूसँग भएको ठुलो दर्शक समूहसँग एकदमै खुला र पारदर्शी तरिकाले सहकार्य गर्न सक्छौँ, मलाई लाग्छ यसले खेल्न सक्ने धेरै सम्भावनाहरू छन् ।
यसका साथसाथै वालेटले खेल्न सक्ने सबैभन्दा राम्रो पक्ष भनेको यो अझै पनि एकदमै छरितो बजारमा छिट्टै पुग्न सक्ने खालको छ । र, यसले यस्तो तरिकाले अन्तरक्रिया गर्न सक्छ कि हामी हरेक दिन, हरेक मिनेटमा नयाँ आविष्कार गर्न सक्छौँ । लाखौँ मानिसहरूका आवश्यकतालाई हजारौँ विभिन्न सुविधाहरू र कम्पोनेन्टहरूमार्फत सम्बोधन गर्न सकिन्छ । जसलाई उनीहरूको जीवनमा सहज रूपमा, व्यक्तिगत रूपमा र उनीहरूको जीवनशैलीमा नै एकदमै तीव्र गतिमा समाहित गर्न सकिन्छ ।

त्यसैले, मलाई लाग्छ कि यसले आउने दिनहरूमा अझ ठुलो भूमिका खेल्न सक्छ र मानिसहरूका पनि धेरै अपेक्षाहरू छन्, जसलाई समय खेर नफाली पूरा गर्न सकिन्छ । देशको स्तरमा, अनुपालन, सुरक्षा, जोखिम, क्रेडिट जस्ता सबै पक्षहरू पूर्ण रूपमा स्वचालित हुनेछन् । र, मलाई के विश्वास छ भने यस समीकरणमा ‘युनिभर्सल बेसिक इन्कम’ (सर्वव्यापी न्यूनतम आय) को पनि ठुलो भूमिका हुनेछ । यस्तो अवस्थामा, वित्तीय उपकरणहरू, वित्तीय संस्थाहरू वा वालेट जस्ता चीजहरूले कसरी काम गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
आजका बैंकहरू ‘युनिभर्सल बेसिक इन्कम’ जस्तो अवस्थालाई सम्हाल्नका लागि डिजाइन गरिएका छैनन् । त्यसैले पैसाले तपाईँको लागि काम गरोस् भनेर हामी यो समीकरणमा कसरी विकास गर्छौं ? एउटा बौद्धिक एआईले तपाईँको पैसा, मेरो पैसा र अरू मानिसहरूको पैसाबीच कसरी फरक छुट्याउनेछ ?
अर्कोतर्फ अहिले कसैले निःशुल्क ऊर्जा दिइरहेका छैनन् । यहीकारण, यसैले भविष्यमा ऊर्जा नै मुद्रा बन्न सक्छ । तर, त्यस्तो अवस्थामा प्रश्न उठ्छ – मेसिनले मेसिनसँग कसरी कुरा गर्ने ? उनीहरूले उपभोग गरेको ऊर्जा वा सेवाको भुक्तानी कसरी मिलाउने ? भन्ने प्रश्न उठ्छ । यसबाहेक, यदि रोबोटिक्समा प्रगति अहिलेको जसरी नै बढ्यो भने भविष्यमा रोबोटहरू पनि लेनदेनमा संलग्न हुनेछन् । अनि यो विषय फेरि विज्ञान र प्रविधिको सवालमा फर्किन्छ ।
(एफवान सफ्ट इन्टरनेशनल अध्यक्ष तथा फिल्पसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वास ढकालले यही सेप्टेम्बर २२ र २३ मा संयुक्त अरब इमिरेट्सको दुबईस्थिती जुमेरा बिच होटलमा आयोजित ‘Futurists X Summit’ मा विश्वका उत्कृष्ट १० भित्र पर्ने ‘फ्यूचरिस्ट’ ब्रेन्ट किङले चलाएको सेसनमा किङले सोधेका प्रश्नहरुको जवाफराखेको मन्तव्यको संपादित अंश)



About Us
प्रतिक्रिया