दसैंमा जुवातास खेल्दै हुनुुहुन्छ ? सावधान ! कानूनी फन्दामा परिएला


काठमाडौं – नेपालीहरूको महान् पर्व दसैं, जहाँ पिङ खेल्ने, टीका लगाउने र घरपरिवारको साथमा हर्ष–उल्लास मनाउने चलन छ, त्यही समयमा गाउँ–गाउँ र घर–घरमा जुवातासको प्रचलन पनि बढ्ने गर्छ । मिठा परिकार, नयाँ लुगा र आर्शिवादसँगै रमाइलो गर्ने सोचमा कतिपय मानिसहरूले जुवातासमा पनि भाग लिने गर्छन् । तर, यसले घरबार र व्यक्तिगत सम्पत्तिमा गम्भीर नोक्सानी पुर्याउने गरेको छ ।

नेपालमा जुवा तास खेल्नेलाई कानुनी रूपमा अपराध मानिएको छ । चाडपर्वको अवसरमा जुवाडेहरूको संख्या वर्षभरिको तुलनामा निकै बढ्ने गर्छ । जुवा खेल्ने र खेलाउने दुवैलाई प्रहरीले पक्राउ गर्छ, र केवल पक्राउ हुनुमा सीमित नदिई जुवा खेल्न प्रयोग भएको सम्पत्ति जफत गर्न पनि कानुनी व्यवस्था छ ।

जुवाको कानुनी कारबाही:

पहिलो पटक पक्राउ परेमा: तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना ।

दोस्रो पटक: एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना ।

तेस्रो वा सोभन्दा बढी पटक: प्रत्येक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवाना ।

जुवामा प्रयोग भएको सवारीसाधन, मोबाइल फोन, पैसा र अन्य सम्पत्ति समेत जफत गरिने कानुनी प्रावधान छ । धेरैजसो अवस्थामा जुवामा हारेर मात्र होइन, पक्राउ परेपछि व्यक्तिगत सम्पत्ति अरूको नाममा जाने जोखिम पनि हुन्छ ।

जुवा खेल्दा के–के गुमाउनुपर्छ ?

प्रहरीको फन्दामा पर्नु ।

आफ्नै सम्पत्ति जुवा खेल्ने क्रममा गुमाउनु ।

जुवा खेल्न प्रयोग भएको सबै चल–अचल सम्पत्ति जफत ।

दसैंको रमाइलोको बीचमा जुवातासले ल्याउने जोखिम धेरै छन् । त्यसैले चाडपर्वको अवसरमा जुवा खेल्ने सोच भन्दा पहिले कानून बुझ्नुपर्छ र व्यक्तिगत नोक्सानीका बारेमा सोच्नै पर्छ ।