नयाँ नोट बिहीन दसैंले ल्याउँला त उमंग ?


काठमाडौं – आज दसैं सुरुवातको पहिलो दिन, अर्थात् घटस्थापना । सामान्यतया सोह्र श्राद्ध सकिएपछि नौरथा सुरु हुन्छ । यही नौरथा लिएर आउँछ नेपालीहरूको महान् चाड वडादसैं ।

दसैं भन्ने बित्तिकै तपाईँ हाम्रो दिमागमा फ्याट्ट आउने चित्र भनेको डाँडामा हालिएको पिङ, मिठो खाना, राम्रो नाना र रातो टिका । अर्को ठुलाबडाको आशीर्वादसँगै दक्षिणाको रूपमा पाइने नयाँ नोट हो । के तपाईँलाई थाहा छ, यस पटकको दसैंमा भने हामीले टिकासँगै पाइने दक्षिणामा नयाँ नोट नहुने भएको छ । नयाँ नोटको ठाउँमा सुकिला नोट पाइने भएको छ ।

सानो हुँदा हजुरबुवाको पालादेखि दक्षिणामा पाउँदै आइरहेको नयाँ नोट दिएको राष्ट्र बैंकले गत वर्षदेखि किन दिन छाडेको होला त ? आजको यो भिडियोमा हामी राष्ट्र बैंकले पैसा नदिनुको कारण र नयाँ नोटविहीन दसैंको कुरा गर्नेछौंः

वर्षौंदेखिको चाडवाडमा हामीले नयाँ नोट प्रयोग गर्दै आइरहेको कारण पनि कतिपयलाई नयाँ नोट बिनाको दसैं अलि खल्लो लाग्न सक्छ । हरेक वर्षको दसैंतिहारलाई लक्षित नयाँ नोट नेपाल राष्ट्र बैंकले यसपालि जार नगर्ने भएको छ । यो पटकको दसैंमा भने सुकिला नोट मात्रै बजारमा पठाउने भएको हो । गत वर्षको दसैंमा पनि राष्ट्र बैंकले नयाँ नोट दिएको थिएन ।

तर यता नयाँ नोट दसैंको समयमा बजारमा नपठाउँदा राज्यलाई भने करिब २ अर्ब बढी फाइदा हुन्छ । नेपाल राष्ट्र बैंकले २०६०/६१ देखि लगातार चाडपर्वहरूमा सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिदै आइरहेको थियो । वर्षेनी ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेको पाइन्छ। खासगरी, दसैंका लागि ५, १०, २०, ५० र १०० दरका नोट वितरण हुँदै आइरहेको छ।

अरू बेलामा डिजिटल बैंकिङ्ग र वालेट चलाउने गरिए पनि दसैंतिहारमा भने दक्षिणा आदानप्रदानमा प्रयोग हुने गरेको छ । दसैंतिहारमा प्रयोग हुँदा नोटमा रङ्ग लाग्ने गर्छ। यस्तै, तास खेल्न प्रयोग हुँदा नोट मैलो र पुरानो समेत हुन्छ । जसले नोटको आयु मै असर गर्छ ।

दसैं र तिहार सकिएपछि ती सबैजसो नोटमध्ये ६० देखि ७० प्रतिशत नोट बैंकमा फिर्ता आउँछन् । नयाँ नोट नछाप्दा नगद नोटको मात्रा घट्दा बैंकहरूले थुप्रै नोटको व्यवस्थापन गर्नुपर्दैन । यस वर्षको दसैंका लागी गत भदौ २९ गतेदेखि राष्ट्र बैंकले सुकिला नोट वितरण गर्दै आइरहेको छ ।

केन्द्रीय बैंकले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा प्रदेशस्तरीय कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढी र बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट सुकिला नोट वितरण गरिरहेको छ । केन्द्रीय बैंकले एक जना व्यक्तिले पाँच, दश, बीस, पचास र एक सय रुपैयाँ दरका नोटसहितको १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ ।