उच्च मनोबलका साथ काम गर्ने सम्पूर्ण प्रहरी अधिकृतलाई महानिरीक्षक खापुङको निर्देशन


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले यस विषम परिस्थितिमा व्यावसायिक धर्म र निष्ठामा कमी आउन नदिने गरी काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई आग्रह गरेका छन् । सात दशक लामो प्रहरी सङ्गठनको लामो काल खण्डमा देश र नागरिकले सामना गर्नु परेको हरेक आपत विपत्मा नेपाल प्रहरीले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ आइरहेको उनी बताउँछन् । 

जेनजी आन्दोलनका क्रममा सोमबार र मंगलबार भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले भोगिरहेको कठिन अवस्थालाई उल्लेख गर्दै उनले हिजोभन्दा आज थप उच्च मनोबल र साहसका साथ नियमित प्रहरी कार्यमा जुट्नुपर्ने उनले बताए ।

उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।  ‘नेपाल प्रहरीको सदस्य भएको नाताले हाम्रो धर्म, कर्म, प्रतिज्ञा र समर्पण राष्ट्र र आम नागरिकको सेवा र सुरक्षा नै हो,’ आईजीपी खापुङले भने,‘ यो जिम्मेवारी ज्यादै महत्त्वपूर्ण र संवेदनशील छ ।

कठिन समयमा व्यावसायिक निष्ठा र कर्तव्यपरायणताले नागरिकलाई शान्त र सुरक्षित जीवनयापन गर्न मद्दत पुग्छ भन्ने कुरामा हामी सजग छौँ ।’ उनका अनुसार जेनजी आन्दोलनका क्रममा प्रहरी संरचना क्षतिग्रस्त, कार्यालय र सवारीसाधन जलाइएको, प्रहरीका पोसाक नष्ट भएको अवस्था भए पनि प्रहरी सदस्यहरूले आफ्नो कर्तव्यलाई निरन्तरता दिइरहेका छन् ।

‘तपाईँहरूको जलेका पोसाक, क्षतविक्षत संरचना र खरानी बनेको सम्पत्ति देख्दा पीडाबोध हुन्छ । तर, त्यसैबीच आफ्नो कर्तव्य सम्झेर सेवामा अडिग रहेका तपाईँहरूका हात देख्दा म गर्वित भएको छु,’ आईजीपी खापुङले भने, ‘यो युगीन जिम्मेवारीको घडीमा हिजोभन्दा आज अझ उच्च मनोबलका साथ काममा लाग्न सकल दर्ताका प्रहरीलाई विशेष आग्रह गर्दछु ।’