हबिबबाट शेयर किन्न नेशनल लाइफले गर्यो सम्झौता, केन्द्रीय बैंकको अन्तिम स्वीकृति कुर्दै हिमालयन बैंक


काठमाडौं – हिमालयन बैंकको शेयर खरिदबिक्रीका लागी नेशनल लाइफ र पाकिस्तानको हबिब बैंकबिच सहमति भएको छ। नेशनल लाइफका एक उच्च पदस्थका व्यवस्थापककाअनुसार साउनको अन्तिममा नै शेयर खरिदबिक्रीका लागी सम्झौता भएको हो।

नेशनल लाइफ स्रोतका अनुसार पाकिस्तानको हबिब बैंकसँग रहेको हिमालयन बैंकको शेयर खरिदका लागि सम्झौता भइसकेको छ । शेयर बिक्री गर्न चाहने र किन्न चाहने पक्षबीचको सम्झौतापछि थप स्वीकृतिका लागि हिमायलन बैंकले नेपाल राष्ट्र बैंकलाई पठाइसकेको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत पाएपछि नेशनल लाइफले हबिबसँग रहेको हिमालयन बैंकको स्वामित्व किन्ने सम्झौता गरेको हो । यहीकारण, प्राधिकरणबाट थप स्वीकृती भने लिनुपर्दैन । पाकिस्तानको हबिब बैंकसँग हिमालयनको २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता शेयर छ ।

हबिब बैंकले उक्त शेयर प्रतिकित्ता १ सय १२ रुपैयाँ ८० पैसाका दरले बिक्री गर्न लागेको हो । जेठमा नै हिमालयनले शेयर बिक्रीमा रहेको सूचना निकालेको थियो । जसमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले खरिद गर्ने प्रयास गरिरहेको थियो ।

तर, संस्थापक शेयरधनीले नै खरिद गर्न प्रस्ताव पेस गरेसँगै हिमालयन रिइन्स्योरेन्स कम्पनीले हिमालयनको शेयर खरिद गर्न सकेको थिएन । नेपालमा हिमालयन बैंकमार्फत भित्रिएको हबिब पटक–पटक बाहिरिन चाहेको थियो । तर, नेपालको नियमकीय प्रक्रियाका कारण बाहिरिन पाइरहेको थिएन ।

यसपटक भने हबिब बाहिरिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यद्यपि, नेपाल राष्ट्र बैंकबाट स्वीकृत नपाएसम्म बाहिरिने प्रक्रियाको टुंगो भने लाग्ने छैन ।