बुटवल – पाल्पाको रम्भा गाउँपालिका–४ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेललाई शेयर सदस्यहरूको बचत रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । व्यवस्थापक बमरेलमाथि दुई करोड ८७ लाख ५७ हजार रूपैयाँ सहकारीको रकम ठगी गरेको आरोप छ ।
‘सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारिक प्रयोजनमा खर्च गरी ठगी गरेको जाहेरी परेपछि बमरेललाई पक्राउ गरिएको हो ।’, प्रहरी उपरीक्षक भट्टराईले भने ।
सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि बमरेललाई २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । व्यवस्थापक बमरेलले विभिन्न व्यक्तिका नाममा रकम लिएको आरोप छ । रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा जाहेरी दिएको सहकारीका अध्यक्ष सुवि विश्वकर्माले बताइन् । ग्रामीण क्षेत्रमा सञ्चालित उक्त सहकारीमा करिब ३ हजार ५ सय शेयर सदस्य रहेका छन् ।



About Us
प्रतिक्रिया