थुनामुक्त गर्न रविले दिएको निवेदनमा बहस जारी, बिगो बुझाएर छुट्न पाउलान् त ?


काठमाडौं– रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि बहस जारी छ।  रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस जारी रहेकाे हाे।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र संगठित अपराधको मुद्दामा रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका निलम्बित सांसद लामिछानेले थुनामुक्त गर्न माग गर्दै सोमबार जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । उनले आफू खुसी बिगो बुझाएर छुट्न पाऊ भनी बैंक जमानत पनि अदालतमा पेस गरेका छन् ।

निवेदनसँगै सहकारी ठगी र संगठित अपराधको मुद्दामा उनका नाममा कायम भएको बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको प्रभु बैंकको जमानत बुझाएका थिए । बहस सकिएपछि नै पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका उनले बिगो बुझाएर मुद्दाबाट छुटकारा पाउने नपाउने टुङ्गो लाग्ने छ ।