साउनका लागी बैंकहरुले घटाए ब्याजदर, कुन बैंकमा कति ब्याज ?


काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले अगामी महिना साउनका लागी ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैंकहरुले आगामी आर्थिक वर्षको पहिलो महिना साउनमा ब्याजदर घटाउने भएका हुन् ।

अधिकांश बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । साउनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर ५.७ प्रतिशतमा कायम भएको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.२६ प्रतिशत घटेर ४.११ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको सबै सिमा घटाएको थियो । त्यससँगै बैंकहरुले पनि ब्याजदर घटाएका हुन् । बैंकको निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्छ । साउनमा ब्याजदर घटाउने बैंकहरुमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक रहेका छन् ।

यस्तै, कृषि विकास बैंकले ५.४० प्रतिशत, एभरेष्ट बैंकले ६.२५ प्रतिशत, नेपाल बैंकले ५.४० प्रतिशत, कुमारी बैंकले ५.४१ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.३५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.५० प्रतिशत, प्राइम बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५० प्रतिशत, प्रभु बैंकले ४.२५ प्रतिशत, नबिल बैंकले ५.५० प्रतिशत, सानिमा बैंकले ६.१८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत र एनआईसी एशिया बैंकले ६.२५ प्रतिशत व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कायम गरेका छन् ।

यता, ब्याजदर बढाउनेमा हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् भने ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

हिमालयन बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.५० प्रतिशत बढाएर ६ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ५ प्रतिशत ब्याजदर कायम गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०१ प्रतिशत बढाएर ६.२६ प्रतिशत पुर्याएको छ भने संथागत मुद्दती निक्षेपमा ब्याजदर हालकोलाई नै निरन्तरता दिएको छ । यस्तै, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत ब्याज दिनेछन् ।