काेशी प्रदेश

साहारा साकोस प्रकरण: कर्मचारी दुर्व्यवहार गर्ने दुई ऋणीको ‘लोकेशन आउट’, प्रहरी खोजेको खोज्यै


विराटनगर – ऋण असुलीका लागि बोलाएर गएका साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशिला लामिछाने विकलाई नियोजित रूपमा जुत्ताको माला लगाएर दुर्व्यवहार गर्ने दुई जना ऋणीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।

ऋणीहरू मोरङको मिक्लाजुङ गाउँपालिका–२ निवासी दुर्गामाया लिम्बु र माया मगरविरुद्ध परेको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा मुद्दा दर्ता भएको हो । जाहेरी लगत्तै उनीहरूको खोजी सुरु गरेपछि मोबाइल समेत स्वीच अफ गरेर ‘लोकेशन आउट’ भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनाको खोजी तीव्र पारेको जनाएको छ ।

झापाको विर्तामोड नगरपालिका–२ चारपाने केन्द्रीय कार्यालय रहेको साहारा नेपाल सहकारी लिमिटेडका मधुमल्ला सेवा केन्द्रका सेवा केन्द्र प्रमुख राई र फिल्ड मेनेजर लामिछानेमाथि आइतबार दिउँसो १ बजे लिम्बु र मगरले घरैमा दुर्व्यवहार गरेका थिए । लिम्बु र मगरले उनीहरूलाई गालीगलौज गर्दै जुक्ताको माला लगाइदिनुका साथै भिडियो समेत खिचेर सामाजिक सञ्जालमा फैलाएका थिए । उक्त दुर्व्यवहारको घटनापछि साहारा साकोसले दुई ऋणीविरुद्ध जाहेरी दर्ता गरेको हो ।

जाहेरीपछि कर्मचारी दुर्व्यवहारमा संलग्न लिम्बु र मगर फरार रहेका छन् । ‘उनीहरूविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भइसकेको छ, हामीले खोजी गरिरहेका छौँ’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले भनिन्, ‘आफन्तको घरदेखि सम्भावित विभिन्न ठाउँमा खोजी भइसकेको छ, तर उनीहरूको मोबाइलको लोकेशन नै आउट छ, अब कल डिटेलका आधारमा खोज्ने तयारी थालेका छौँ ।’

सेवा केन्द्र प्रमुख राई र फिल्ड मेनेजर लामिछाने कर्जा नवीकरण गर्ने सिलसिलामा ऋणीहरूले नै घरमा बोलाएपछि गएको साहारा साकोसले जनाएको छ । बोलाएपछि गएका कर्मचारीलाई कुर्सीमा बसाएपछि उनीहरूले कुराकानी सुरु गरेर पहिल्यै तयार गरेको जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेका थिए । एकजनाले जुत्ताको माला लगाइदिने र अर्को जनाले भिडियो खिच्ने कार्य गरेका थिए । साहारा नेपाल सम्बद्ध एकीकृत कर्मचारी संगठनले नियम अनुसार कार्य सम्पादन गर्ने क्रममा सहकारीका कर्मचारीहरूमाथि नियोजित रूपमा दुर्व्यवहार गरेको भन्दै दोषीहरू उपर कडा कारबाहीको माग गरेका थिए ।