अनधिकृत कारोबार भएमा तत्काल जानकारी गराउन राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबार भएको जानकारी भएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक वित्तीय चेतनाका लागि सूचना जारी गर्दै अनधिकृत कारोबारको सम्बन्धमा तत्काल जानकारी गराउन भनेको हो ।

डिजिटल वित्तीय सेवा जति आधुनिक हुँदै जाँदा वित्तीय ठगी र अपराधका शैली पनि त्यतिनै फरक, नयाँ र जटिल बन्दै गएको छ । आफ्नो मोबाइल र इमेलमा आएको ओटीपी आफ्नो व्यक्तिगत उपकरण (मोबाइल, कम्प्युटर, एटीएम आदि) तथा इमेलको पासवर्ड कसैलाई शेयर गरेको अवस्थामा त्यस्तो व्यक्तिले बैंक खाताबाट अनधिकृत कारोबार गर्न सक्ने वित्तीय ठगीमा पर्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि ‘कस्टमर सपोर्ट टिम’ को व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय ठगीमा संलग्न हुनेहरूले छोटो समयमा धेरै खाताहरूमा रकमान्तर गर्ने भएकाले जति समय खर्च भयो त्यस्तो कारोबारको पहिचान गर्न त्यति नै कठिन हुँदै जान्छ । तसर्थ, आफू वित्तीय ठगीमा परेको वा आफ्नो खाताबाट अनधिकृत वित्तीय कारोबार भएको भेटिएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराई सम्भावित थप नोक्सानीबाट जोगिन राष्ट्र बैंकले जनाएको हो । केन्द्रीय बैंकले अनधिकृत वित्तीय कारोबारको यथाशीघ्र जानकारी गराई सम्भावित थप ठगीबाट जोगिन भनेको छ ।