आर्थिक अवस्था सुधार्न सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन : मन्त्री रिजाल

आर्थिक अवस्था सुधार्न सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन : मन्त्री रिजाल


बैंकिङ्ग समाचार, काठमाडौं ।

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारणसभामा बोल्दै देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताए । मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरु बनाएर अघि बढ्न सरकार तयार रहेको बताए ।

“मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको हो ।

तपाईंहरुको भूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाई हामी सबै मिलेर गर्नुपर्छ,” उनले भने, “त्यसका लागि हामीले नीति, नियम के आवश्यक्ता छ, तपाईंहरुलाई कसरी काम गर्न सहज हुनेछ, त्यसमा हामी कुनै कसुर बाँकी राख्दैनौँ ।”

मन्त्री रिजालले उद्योगी, व्यवसायीहरुले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए ।