कीर्ते कागजात बनाएर मृतकको बीमा रकम हत्याउन खोज्दा श्रम मन्त्रालयका नासुसहित ६ जना पक्राउ


काठमाडौं – विदेश गएर आएको व्यक्तिको एक वर्षभित्र मृत्यु भएमा वा विदेशबाट छुट्टीमा नेपाल आएको खण्डमा मृत्यु भएमा सरकारले उक्त व्यक्तिको नाममा १० लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । त्यही रकम लिने अभिप्रायले विभिन्न कागजात कीर्ते गरी बनाउने श्रम मन्त्रालयका नायक सुब्बासहित ६ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्रम मन्त्रालयको भूमि व्यवस्था अभिलेख विभाग बबरमहलका नायब सुब्बा पशुपति अधिकारी, मानबहादुर नेपाली, रामबहादुर नेपाली, निरकुमार मल्ल, रामबहादुर तामाङ र कान्छामान तामाङ रहेका छन् । उनीहरूले मृत्यु भैसकेको व्यक्तिको बीमा बापतको रकम पाउने आशामा सरकारी कार्यालयका विभिन्न कागजातहरू कीर्ते गरेको खुल्न आएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता युवराज खड्काले बैंकिङ्ग समाचारलाई बताए ।

काभेपलाञ्चोककी सोमा थिङको मृत्यु २०७९ सालमा भएको थियो । उनी कान्छारामकी श्रीमती समेत हुन् । कान्छारामले वैदेशिक रोजगारमा गएर आएको व्यक्तिको एक वर्ष नै नपुग्दै मृत्यु भएको अवस्थामा रकम पाउन सकिन्छ भने कुरा थाहा पाए। तर, मृत्यु भएको उनकी श्रीमतीको मृत्यु काल गतिले नभई आत्महत्या गरी भएको खुल्न आएको खड्काले बताए । 

सोमाको मृत्यु २०७९ मा नै भइसकेको थियो तर, उनीहरूले २०८१ सालमा मृत्यु भएको विवरण तयार पारेका थिए । सोमा २०७६ सालमा विदेश गएकी थिइन् । उनीहरूले सोमा २०७६ साल विदेश गएर आएर फेरी विदेश गएको विवरण तयार परेको प्रवक्ता खड्काले बताए ।  उनीहरूले सोमाको मृत्युको सम्पूर्ण विवरण क्रीते गरी सकेपछि वैदेशिक रोजगार बोर्डमा पेस गरेका थिए ।

उनीहरूले पेस गरेको विवरण माथि शङ्का उत्पन्न भएपछि वैदेशिक रोजगार बोर्डले राशी गाँउपालिकालाई पत्राचार गर्दै विवरण माग गरेको थियो। काठमाडौं परिसरका अनुसार योभन्दा पहिला पनि नाशु अधिकारी यस्तै प्रकृतिको अपराधमा तानिएका थिए।त्यस बेलामा मनबहादुर, रामबहादुर नेपाली, रामबहादुर तामाङ र अधिकारीलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय परिसर काठमाडौं पठाइएको थियो । उनीहरूले त्यस बेलामा पनि वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका व्यक्तिका परिवारले बीमा बापत पाउने रकम दिलाइदिने भनेर ठगी गरेको नै खुलेको थियो ।