इटली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीको लागि इटली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं -७ बस्ने  १९ वर्षीय दाङ घोराही घर भएका दर्शन खड्का र काठमाडौं-३ बस्ने ३७ वर्षीय गोरखा घर भएका सरेश गुरुङ रहेका छन् । 

पक्राउ मध्ये खड्काले तीन जनालाई इटली पठाइदिन्छु भन्दै  ६ लाख रुपैयाँ र गुरुङले वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिन्छु भन्दै चार लाख रुपैयाँ ठगी गरेका छन् । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।