काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीको लागि अमेरिका र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ५१ वर्षीय राज कुमार मानन्धर र रुपन्देहीका ४० वर्षीय ओम बहादुर खत्री रहेका छन् । उनीहरूले वैदेशिक रोजगारीको लागि अमेरिका र युके पठाइदिन्छु भन्दै ५६ लाख ७२ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।
पक्राउ पर्ने मानन्धरले ३ जनालाई अमेरिका पठाइदिन्छु भन्दै उनन्चास लाख सन्तानब्बे हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनी विरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दामा बिगो उनन्चास लाख सन्तानब्बे हजार रकमसहित दुई वटा पक्राउ अनुमति प्रदान भइसकेको प्रहरीले जनाएको छ ।
यस्तै, खत्रीले एक जनालाई युके पठाइदिन्छु भन्दै छ लाख पचहत्तर हजार रुपैयाँ ठगी गरेका थिए । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया