प्रेमीसहितको संलग्नतामा सुनचाँदी सञ्चालकमाथि ‘हनी ट्र्याप’को जाल, ३ जना प्रहरीको फन्दामा


काठमाडौं – हनी ट्र्यापमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीकी २७ वर्षीया मरियम राई, मोरङका वर्ष ३८ का देव लिम्बु र सखुवासभाका वर्ष ४० को टेक बहादुर सुवेदी रहेका छन् । उनीहरूले कास्कीको पोखरा महानगरपालिका–४ स्थित एक सुनचाँदी पसलका सञ्चालकलाई हनी ट्रयापको सिकार बनाएका थिए । मरियम राई सोही सुनचाँदी पसलमा विगत ५ वर्षबाट निरन्तर काम गर्दै आइरहेकी थिइन् । राईले आफू काम गरेको पसलको सञ्चालकको सम्पत्तिबाट लोभिएर आफ्ना साथीहरूलाई पोखरा बाेलाएकी थिइन्।

उनले बोलाएको २ जनामध्य एक जना राईको प्रेमी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरि बहादुर बस्नेतले बताएका छन् । राईले आफ्नो प्रेमी र प्रेमीको  साथीको साथमा पसल सञ्चालकलाई कसरी हनी ट्र्यापमा पर्ने योजना बनाएका थिए । राईको साथी लिम्बु हुन् भने लिम्बुका साथी सुवेदी हुन् । उनले गत ५ वर्षदेखि काम गर्दै आएको पसलको सञ्चालकलाई नै हनी ट्र्यापमा फसाउन आफ्ना साथीलाई पोखरा बलाएकी थिइन् । उनका साथी पोखरा आउनुको उद्देश्य नै हनी ट्र्याप रहेको प्रवक्ता बस्नेतले बताए । उनीहरू मोरङबाट प्लानिङका साथ पोखरा छिरेका थिए । राईले आफ्ना साथीहरूलाई आफूलाई यौन दुर्व्यवहार गरेको छ, पसलेसँग ५० लाख माग्नु पर्छ भनेर योजना बनाएकी थिइन् । 

राईको प्रेमी र प्रेमीको साथी पोखरा आएपछि सञ्चालककी श्रीमतीलाई धम्काउन थालिएको प्रहरी स्रोत बताउँछ । उनीहरूले पोखराको लेक साइट स्थित एक होटेलमा एक हप्ता बसेर हनी ट्र्यापमा योजना बनाएका थिए । उनीहरूले सुनचाँदी पसल सञ्चालकको श्रीमतीलाई जिन्दगी भरीलाई पुग्ने सम्पत्ति, बस्ने घर तथा व्यवसायका लागि गरिदिन चेतावनी दिएका थिए । अन्यथा श्रीमानका विरुद्धमा मुद्दा लगाइदिने धम्की समेत दिइएको थियो । सो योजनाबाट ३ जना मिलेर ५० लाख माग गरेको खुल्न आएको प्रवक्ता बस्नेतले बताए । राईले पसलेको श्रीमतीलाई आफूहरूलाई रकम नदिए उनका श्रीमानलाई बलात्कार गरेको मुद्रामा फसाउने धम्की दिएकी थिइन् ।

उनीहरूको साथबाट प्रहरीले एक थान मोबाइल, उनीहरूले बार्गेनिङ गरेको अडियो एक थान, एक्सर्टसनसँग सम्बन्धी कागजातहरू बरामद गरिएको छ । बार्गेनिङ गरेको उक्त अडियोमा उनीहरूले सुनचाँदी पसलेको श्रीमतीसँग गरेको सम्पूर्ण  कुरा रेकड भएको उनले बताए । हनी ट्रयापको शैलीमा रकम असुल्न खोजेको सूचना प्राप्त भएपछि  कास्की जिल्ला प्रहरीबाट खटाइको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक  विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।