चीन अटो चोङछिङ सम्मेलनमा नेपालको प्रभावशाली प्रतिनिधित्व, नाडाको ऐतिहासिक उपस्थिति


काठमाडाैं- नेपालको अटोमोबाइल क्षेत्रको अग्रणी संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चीनको चोङछिङमा आयोजित ‘चीन अटो चोङछिङ सम्मेलन २०२५’ मा सक्रिय सहभागिता जनाउँदै नेपालको व्यवसायिक प्रतिनिधित्व गरेको छ। २०२५ जुन ६ र ७ मा सम्पन्न सम्मेलन ‘उद्योगको भविष्य निर्माणः परिवर्तनको चरणमा’ भन्ने मूल विषयमा केन्द्रित रहँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधि प्रवद्र्धनमा केन्द्रित थियो।

सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले ‘चीन–आसियान सत्र’ अन्तर्गत प्यानलिष्टका रूपमा मन्तव्य राख्दै नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, बजारको सम्भाव्यता र क्षेत्रीय सहकार्यका अवसरहरूबारे धारणा व्यक्त गरेका थिए। उनी दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागी बनेका थिए, जसमा दिगो यातायात प्रणाली र ईभी प्रवद्र्धनका विषयमा गहन छलफल गरिएको थियो।

नाडाले सम्मेलनमा नेपालको अटोमोबाइल व्यवसाय र लगानी वातावरण प्रस्तुत गर्ने उद्देश्यले स्टल समेत स्थापना गरेको थियो। सो स्टलमार्फत नेपालको बजार अवस्था, नीतिगत पूर्वाधार, र आउँदो अगष्टमा काठमाडौंमा आयोजना हुने ‘नाडा अटो शो २०२५’ बारे विस्तृत जानकारी प्रदान गरिएको थियो। चिनियाँ अटो कम्पनीहरूले उक्त प्रस्तुतिमा उच्च चासो देखाएको नाडाले जनाएको छ।

उक्त सम्मेलनमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय सदस्य प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित सदस्य अनुपकुमार बराल र नारायणप्रसाद पौडेलले पनि सहभागिता जनाएका थिए। नाडाको इतिहासमा चीनको यस्तो उच्चस्तरीय सम्मेलनमा सहभागिता पहिलोपटक भएको हो, जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको अटो उद्योगको पहुँच विस्तार गर्न मद्दत पुगेको छ।