प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी थापा


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले पाएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी थापालाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएकाे हाे।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी थापालाई प्रवक्ताको जिम्मेवारी तोकिएको सचिवालयले बुधबार जानकारी दिएकाे छ ।

केन्द्रीय प्रवक्तामा यसअगाडि प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्य रहेका थिए ।