साथीको लहैलहैमा बैंकर बनेकी रञ्जना, कृषि विकास बैंक हुँदै बनिन् राष्ट्र बैंकको निर्देशक

साथीको लहैलहैमा बैंकर बनेकी रञ्जना, कृषि विकास बैंक हुँदै बनिन् राष्ट्र बैंकको निर्देशक


काठमाडौं – हरेक मानिसका आ–आफ्नै सपनाहरु हुन्छन् । सपना विनाको र लक्ष्य विनाको कुनै पनि व्यक्ति सफल हुन सक्दैन। मानिसहरु आफुले देखेका सपना पूरा गर्न दत्तचित्त भएर लागी पर्ने गर्छन् । कहिलेकाँही मानिसले आफुले चाहेको क्षेत्र परिवर्तन गरेर अर्को क्षेत्रमा जानुपर्ने परिस्थिती पनि सिर्जना हुन्छ । तर, रुची भएको क्षेत्रभन्दा अन्य क्षेत्रमा जाँदा पनि उसले सफलता हासिल गर्न सक्छ । यस्तै, सोचेकोभन्दा अन्य क्षेत्रमा ‘करिअर’ बनाएर सफल बनेका उदाहरणहरु छन् ।

जस मध्येकी एक हुन्, नेपाल राष्ट्र बैंककी निर्देशक रञ्जना पौडेल पण्डित । स्याङ्जाको विचारी चौतारीमा जन्मिएकी रञ्जनाले प्राथमिक तहसम्मको शिक्षा गाउँकै विद्यालयमा पुरा गरिन् । त्यसपश्चात् कक्षा १० सम्मको अध्ययन काठमाडौंको कालिमाटीस्थित जनप्रभात उच्च माध्यमिक विद्यालयबाट पुरा गरिन् । पौडेलले ‘आइकम’ र ‘विकमर्स’सम्मको अध्ययन पद्य्मकन्या क्याम्पसबाट गरिन् । पौडेलले शंकरदेवबाट एमबीएसम्मको अध्ययन पुरा गरेकी छिन् ।

पौडेललले ‘विकम’ गर्दा उत्कृष्ट नम्बर ल्याउँदै कलेज टप गरेकी थिइन् । उनले सो समयमा मेडल समेत हात पारेकी थिइन् । पौडेल कृषि विकास बैंकमा आबद्ध भएर डेढ वर्ष जति काम गरेपछि राष्ट्र बैंकमा प्रवेश गरेकी हुन् । लोसकेवा आयोगको परीक्षा उतीर्ण गर्दै सहायक सेवाबाट राष्ट्र बैंक प्रवेश गरेकी पौडेलले अर्थशास्त्रमा समेत एमीएसमेत गरेकी छिन् ।

स्याङजमा जन्मिएकी पौडेल बाल्यकाल स्मरण गर्दै भन्छिन्, बाल्यकाल भन्नेवित्तिकै गाईवस्तु चराएको, साथीभाइसँग खेलेको हजुरबुबा–हजुरआमाले दिनुभएको माया इत्यादि सम्झिन्छु’ त्यो समयमा उनले पढ्ने स्कुल नजिक थिएन । सानो हुँदा स्कुलमा श्रमदान गर्नुपरेका कुरा आज पनि उनको दिमागमा ताजै छन् । ‘स्कुलमा मर्मत सम्भार गर्नुर्पयो भने हामीलाई ढुंगाा गिट्टी बोक्ने काम लगाउँथे’ उनी सम्झिन्छिन् ।


साथी संगतले मोडिएको सपना

बाल्यकालमा रञ्जना बैंकिङ्ग क्षेत्र प्रवेश गर्ने सपना देखेकी थिइनन् । उनलाई सानोमा ‘स्टाफ नर्स’ बन्ने रहर जागेको थियो । एसएलसीपछि ‘आइकम’ सकाएर स्टाफ नर्स बन्ने सपना देखिरहेकी रञ्जना साथी भाइहरूको लहलहैमा लागेर कृषि विकास बैंक हुँदै राष्ट्र बैंकसम्म पुगिन् । उनले साथीहरुको गफको तालमा नै कृषि विकास बैंकको परिक्षा दिएकी थिइन् । बुबा राष्ट्रिय वाणिज्य बैंकका कार्यरत उनका बैंकर बुबा सन्तानले बैंकिङ्ग क्षेत्रभन्दा लोकसेवा पास गरेर अन्य सरकारी सेवा रोजुन् भन्ने चाहन्थे । उनको बुबा छोरीहरूको लागि सरकारी जागिर सुरक्षित हुन्छ भन्ने विचार राख्थे ।

पौडेल आफुले बैंकिङ्ग करियर सुरुवात गर्दा प्रविधिका कारणले कार्यशैलीमा पनि चुनौती रहेको बताउँछिन् । पौडेल त्यतिबेला बैंकिङ्ग क्षेत्रमा काम गर्न निकै चुनौती रहेको सम्झिन्छिन् । अझैँ पनि महिला कर्मचारीलाई हेर्ने नजर नकारात्मक रहेको उनी बताउँछिन् । ‘हाम्रो पालामा कुनै महिलाले जागिर खायो भने कसैले लगाइदिए होला भन्ने सोच्थे, कसैसँग निर्भर नभइ जागिर खान सक्दैनन् भन्ने नजरले हेरिन्थ्यो’ उनी त्यो समयलाई सम्झिन्दै भन्छिन् । उनले बैंकिङ्ग करियर सुरु गर्दा उनको तलब ३५ सयदेखि ३७ सय थियो ।


‘बैंकिङ्ग क्षेत्र महिला कर्मचारीमैत्री छ’
पौडेल बैंकिङ्ग क्षेत्र महिला कर्मचारीमैत्री क्षेत्र भएको बताउँछिन् । बैंकिङ्ग क्षेत्र हामी महिलाहरूका लागि सहज र रुचिको क्षेत्र पनि हो । ‘धेरैले कर्मश पढ्ने अनि बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्ने सपना देखेका हुन्छन्,’ उनले भनिन् । महिलाहरूलाई यस क्षेत्रमा थप सहजता प्रदान गर्न कार्य समय लगायतका विषयमा विशेष ध्यान दिन आवश्यक छ । महिलाहरूले कार्यालयसँगै घर पनि सम्हाल्नु पर्ने भएकाले कार्यालयको काममा बाधा नपर्ने गरी उनीहरूलाई समयमा केही सहुलियत प्रदान गर्न आवश्यक छ । महिला कर्मचारीहरूलाई काममा अनावश्यक बोझ थपिदिने, बढी समय लिन खोज्नेभन्दा पनि सहजता प्रदान गर्न आवश्यक रहेको उनी बताउँछिन् ।


महिला बैंकर क्षमतावान् हुँदैनन् भन्नु नै गलत
महिला कर्मचारीहरूले सामाजिक तथा पारिवारिक जिम्मेवारीका कारण समय व्यवस्थापनमा केही कमजोरी देखियो भन्दैमा कमजोर हुन्छन् भन्नु गलत रहेको उनी बताउँछिन् । कार्यालय समयमा पनि केही पारिवारिक कुराहरूले गर्दा सामान्य प्रभाव पर्ला । यसो भन्दैमा महिला कर्मचारीलाई कमजोर भन्न नमिल्ने उनको भनाई छ । ‘मलाई त महिलाहरू थप सक्षम हुन्छन् । हामी पनि पुरुष समान रहेको भन्दै उनी महिला इमानदार रहेको भन्दै कुनै पनि काम गर्दा महिला दीर्घकालीन रूपमा सोच्छन्,’ उनले भनिन् । पुरुषका साथै महिला कर्मचारीहरूलाई प्राथमिकतामा राखेर विभिन्न तालिमहरू सञ्चालन गर्न आवश्यक रहेको उनी बताउँछिन् ।


समयको व्यवस्थापन गर्नु पनि कला हो
पारिवारिक समयसँगै कार्यालय, सन्तान, आफ्नो शैक्षिक कार्यहरू, आफ्नो क्षमतामा वृद्धि गर्दै लैजानु महिलाहरूको कला भएको उनी बताउँछिन् । ‘हामीले अवसरमा सहजता मात्र होइन हामी सक्षम छौँ भनेर साबित पनि गर्न सक्नुपर्छ,’ उनी भन्छिन् । घरपरिवार, सन्तानलाई बुझाउँदै कार्यालय समय निकाल्ने उनी बताउँछिन् । आत्मविश्वास र धैर्यताले सफलता प्राप्त गर्ने भएकाले महिलाहरू अवसर मात्र खोज्ने नभएर काम गर्न पनि सक्छन् भनेर साबित गर्न सक्नुपर्ने उनको धारणा छ ।

उनी भन्छिन् ‘म राष्ट्र बैंकका सहायकबाट प्रवेश गरेर आन्तरिक प्रतिस्पर्धा मात्र निर्देशकको पदसम्म पुगेकी छु । विभिन्न विभागहरूमा बसेर काम गर्दै गर्दा मैले निकै सन्तुष्ट हुँदै, आनन्द लिँदै काम गरियो ।’ वैदेशिक विभागका साथै, अनुसन्धान लगायतका अन्य विभागमा बसेर काम गर्दा आर्थिकका साथै स्थलगत अनुगमनमा जाँदा महिला बालबालिका साथै देशको भूगोल लगायतका विषयमा जानकारी लिने अवसर पाएको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय मुद्रा विभाग अन्तर्गत अमेरिकामा २ वर्ष बसेर काम गर्दा थप धेरै कुराहरू सिक्न पाएको उनी बताउँछिन् । त्यहाँबाट उनले महिलाहरूले कतिसम्म क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने बुझ्न पाएको बताउँछिन् । महिलाहरूको नेतृत्व क्षमता बुझ्दा पाउँदा थप आत्मविश्वास मिलेको अनुभूति उनलाई हुन्छ ।

‘महिला कर्मचारीलाई पत्याउँदैन’
महिला कर्मचारीलाई नपत्याउने गरेका अनुभव छ उनीसँग । समाजले महिलालाई भन्दा पुरुषलाई बढी प्राथमिकता राख्छ । महिलाहरूलाई निर्णय गर्ने, नीति बनाउने कुरामा समावेश नगर्ने गरेको उनी बताउँछिन् । पौडेल भन्छिन्, ‘मलाई महिला भएकै कारण कमजोर सोचेको अनुभव छ । कतिपय ठाउँहरूमा म भन्दा सानो पदको पुरुष कर्मचारीलाई विश्वास गर्दा मलाई विश्वास गर्दैनथे ।’ केही समय अघिसम्म पनि बैंकर महिलाहरू दुर्व्यवहारमा पर्ने गरेको उदाहरण रहेको भन्दै हाल केही हदसम्म कम भएको छ । महिलाहरू दुर्व्यवहारबाट बच्न आफै सचेत हुनुपर्ने उनी बताउँछिन् ।

उनले बिवाह हुनुभन्दा अगाडि बुबा आमाको र बिहेपछि श्रीमानको राम्रो साथ पाइन । ‘महिला भएपछि सक्षम र सफल हुनुपर्छ भन्ने प्रेरणा श्रीमानले दिनुभयो । घरायसी काममा सघाउने होस् या पढ्ने विषयमा सधैँ श्रीमानको साथ मिल्यो,’ उनले भनिन् । सासू ससुराले पनि बुहारी अफिस जानुपर्छ भनेर साथ सहयोग गरेको उनी बताउँछिन् । यस्तो साथ सहयोगको सबै महिलाहरू हकदार हुन् । यो हरेक घरका महिलाहरूले पाउनुपर्छ भन्ने उनलाई लाग्छ ।

महिलाहरूलाई सक्षम बनाउन नीतिगत व्यवस्था हुनुपर्ने उनको माग छ । महिलाहरूलाई मातृत्वको जिम्मेवारी पनि रहने भएकाले बैंकिङ्ग क्षेत्रमा महिला कर्मचारीहरूलाई विशेष प्राथमिकता दिन आवश्यक छ । यस क्षेत्रमा आबद्ध महिलाले आफ्नो बालबच्चासँगै कार्यालय पनि अगाडि लैजाने वातावरणका लागि विशेष पहल गर्न आवश्यक गरेको उनले औँल्याइन् । महिलाहरूलाई इज्जतका साथ सम्मानजनक तरिकाले काम गर्ने वातावरण बैंकिङ्ग क्षेत्रले दिनुपर्छ । ‘यस क्षेत्रमा आबद्ध हुन चाहने महिलाहरूलाई राम्रो छ । यो क्षेत्र हाम्रो लागि पनि हो भन्न चाहन्छु,’ उनले भनिन् । तर, यस क्षेत्रमा आबद्ध हुनुअगाडि आफ्नो क्षमतामा वृद्धि गर्नुपर्छ ।

(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)