तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले ल्यायो छुट योजना, महिलाहरुलाई लकर शूल्कमा विशेष छुट दिने

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले ल्यायो छुट योजना, महिलाहरुलाई लकर शूल्कमा विशेष छुट दिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । बैंकले हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । बैंकका अनुसार यस्ता छुटहरु जुनसुकै शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ ।

यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गरगहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु जस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैंकले जनाएको छ ।

यसका साथै ग्राहकहरुको सहजताका लागी बैंकले निःशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिले देखि नै प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।