बागलुङ – दसैं नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् । परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । दसैंको माहोलले गाउँघरमा रौनक छाएको छ । तर बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका पहिरोपीडितलाई उक्त रौनकले छाएको छैन ।
पहिराले घरबार र आफन्तविहीन बनेका धेरैको आँखा अझै ओभाउन सकेका छैनन् । त्रिपालको छाप्रो र आफन्तकहाँ आश्रय लिएका परिवारलाई दसैंको भन्दा पहिरामा गुमाएका आफन्तको चिन्ताले पिरोलिरहेको छ । गत साउन २२ गते आरुपाटामा आएको पहिराले स्थानीय बालीश्वर बुढामगरको दुईवटा घर पुरेको थियो
पहिरोले घर पुरिँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए । आरुपाटाको ठाउँठाउँमा पहिराले ७३ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका सयौँ नागरिक अहिले कष्टपूर्ण दिन कटाउन बाध्य छन् । युवाहरूभन्दा बालबालिका र वृद्धवृद्धालाई निकै समस्या परेको छ ।
बालीश्वको घर पुरिँदा उनका ७५ वर्षीय बुबा जोगबहादुर बुढा, जुम्ल्याहा छोरी सात वर्षीया मधु र मालती बुढामगरको मृत्यु भएको थियो । उनी अहिले लेलमेला भन्ने ठाउँमा त्रिपाल टाँगेर ७५ वर्षीया आमासहित छ जनाको परिवार बस्दै आएका छन् । वृद्धा आमा र साना छोरासहित त्रिपालमुनिको बास अत्यासलाग्दो छ ।
बेलाबेला पानी पर्दा पनि उनीहरूलाई झस्काइरहन्छ । दुई महिनादेखि त्रिपालमुनि बस्दा बूढीआमा र साना छोरा बिरामी हुने गरेको बालीश्वरले बताए । दसैं नजिकिँदा गाउँ रमाइलो भए पनि आफूहरूका पीडा थपिएको उनी बताउन्छन् । दुई छोरी र बुढेसकाल लागेका बुबा गुमाउँदा निकै पीडा भएको बालीश्वरको भनाइ छ । स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्दा खानाको समस्या नभए पनि घर पुनःनिर्माण गर्न सक्ने स्थिति नभएको उनले बताए ।
‘दसैं आयो, सबैतिर खुसीयाली छ, हाम्रा लागि त यो दसैँ दशा भयो, बस्ने घर छैन, पहिराले आफन्त पनि खोसेर लग्यो, बासको ठेगान नभएकालाई केको दसैं तिहार? , यस्तो बेला चाडबाड आउँदा पिर पर्दोरैछ’, बुढामगरले भने, ‘मलाई त त्यही छोरीहरूको र बुबाको याद आइरहन्छ, उहाँहरू पहिरोमा नपरेको भए हाम्रो पनि चाडबाड रमाइलो हुने थियो, अहिले त साना छोरा छन्, उनीहरूलाई खुसी बनाउन पनि सकिएको छैन ।’
पहिरोका कारण स्थानीय मङ्गलसिंह बुढामगर पनि विस्थापित भएका छन् । बालीश्वरको घर पुरिँदा मङ्गलसिंहका नौ र १२ वर्षीय दुई छोराको मृत्यु भएको थियो भने उनी पनि गम्भीर घाइते भएका थिए । लामो समय अस्पतालमा उपचार गराएर केही दिन अगाडि मात्रै गाउँ आएका मङ्गलसिंहको दुईवटै खुट्टा चल्दैनन् ।
उनको साथमा आठ र ११ वर्षीया छोरीमात्रै छन् । लामो समय अरुको घरमा बस्दा समस्या हुने भन्दै आफ्नो घर बनाउन सक्ने क्षमता नभएको मङ्गलसिंहले सुनाए । चाडबाडका बेला छोरीहरूले राम्रो लाउन र मिठोमसिनो खान खोज्दा खुवाउन सक्ने स्थिति नरहेको उनको भनाइ छ ।
उनले भने, ‘यो साल त मलाई ठूलो दशा लागेको रहेछ, छोरालाई पहिराले लग्यो, घरमा बस्न सक्ने अवस्था छैन, भाइले बस्न दिएको छ, उसकामा कति दिन बसेर पुग्छ? , गाउँलेले दिएको कोदो, मकै खाएर पेट भोको छैन, तर दसैँको बेला यी साना छोरीलाई के थाहा हुन्छ र हामीसँग आर्थिक छैन भन्ने, जसोतसो एउटा बस्ने घर बनाउन सके हुन्थ्यो, अहिले त धेरैले लत्ताकपडा र अरुसामान सहयोग गरेका छन्, सरकारले घर बनाइदिए हुन्थ्यो ।’
बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले पहिरोपीडितका लागि पालिकाले अतिआवश्यक सामग्री सहयोग गरेको बताए । अहिले धेरै पीडित आफन्तकामा आश्रय लिएको हुँदा खानेकुरा र लत्ताकपडाको समस्या नभएको उनको भनाइ छ । गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर तत्कालका लागि सुरक्षित स्थानमा राख्ने र आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कार्यलाई जोड दिएको उपाध्यक्ष वन बताउन्छन।
‘कुनै पनि पहिरोपीडित भोकै बस्न नपरोस्, नाङ्गो हुन नपरोस् भन्ने हिसाबले हामीले खाद्यान्न र लत्ताकपाडा उपलब्ध गराएका छौँ, धेरै सङ्घसंस्थाले पनि सहयोग गरेका छन्’, उनले भने, ‘अहिले उहाँहरूलाई खानाको समस्या छैन, पुनःस्थापनाका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग सहयोग मागिरहेका छौँ ।’ रासस






About Us
प्रतिक्रिया