काठमाडौं – नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिनसम्म चलेको पूर्वाधार सम्मेलन सम्पन्न भएको हो ।
बिहीबार र शुक्रबार चलेको पाँचौ संस्करणको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए ।
उनले नेपाल सरकारले केही समय अगाडि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनहरुमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको उल्लेख गर्दैै पूर्वाधारको विकास अपरिहार्य रहेको बताएका हुन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासहरूदेखि नवीन वित्तिय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयहरुमा गहन रुपमा छलफल भएको बताए ।
नेपालको दिगो विकासलाई अघि बढाउन रणनीतिक लगानीको महत्वका विषयमा आएका सुझावहरु नेपाल सरकारलाई उपलब्ध गराउने उनले जानकारी गराए ।
नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालगायतले पूर्वाधार सम्मेलनले पूर्वाधार विकासका लागि नेपालले ध्यान दिनुपर्ने विषयहरुमा विदेशी एवं स्वदेशी विज्ञहरुबाट महत्वपूर्ण सुझाव आएको बताए ।
प्रतिक्रिया