काठमाडौं – नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरुलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालय सुचना जारी गरेको छ । समितिले यस पटक प्रति व्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने भएको छ ।
समिति सचिवालयले प्रेस सम्मेलनका आयोजना गरी भर्खरै सम्पन्न भएको हज यात्रा सुखद र सफल भएको बताएको छ । ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौ । खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौ । बसाई अवधिमा यात्रुलाई कुनै पनि कठिनाई हुन नदिनका लागि साउदी सरकार, साउदी स्थित नेपाली दुतावाससँग सहकार्य गरयौ’, उनले भने ।
हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ । धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्य सम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ । तर, यस पटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए । त्यस्तै, नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो । यो अवधिमा कमिटिले पहिलो पटक यात्रीलाई धेरै रकम फिर्ता गर्न सफल भएको उनले दाबी गरे । ‘म अध्यक्ष नियुक्त हुँदा पनि पारदर्शी प्रक्रियाबाट भए । मैले पनि आफुले गर्ने काम सबै पारदर्शी र कम खर्चिलो गर्ने कोशिस गरेको छु,’ उनले भने ।
समितिले प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर, अनुमान गरे भन्दा खर्च कम भए पछि कमिटिले रकम फिर्ता गर्न लागेको उनले बताए । ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सुचना जारी गरेका छौ । नम्बर प्राप्त भएपछि हामी अनलाईन नै भुक्तानी गरिदिन्छौ, उनले भने ।
यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो । तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएको समितिका अध्यक्ष इश्रा मूल्ला मियाँले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनले बताए । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागीता थियो ।
प्रतिक्रिया