नेपालमा बढ्दै क्रिप्टो कारोबार, तीन विदेशीसहित ५० जना सीआईबीकाे फन्दामा


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो क्रिप्टो कारोबारमा संलग्न रहेको भन्दै तीनजना विदेशी नागरिक सहित ५० जना नेपालीलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको एकान्तकुनास्थित एकतावस्तीमा रहेको जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कल सेन्टर सञ्चालन गरि उक्त कारोबार गर्दै आएको भन्ने सूचनामा प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीले उनीहरुले प्रयोग गर्दै आएको कम्प्युटर, मोबाइल लगायतका उपकरणहरु नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कल सेन्टरबाट विभिन्न नामका डेटिङ एपहरुमा विदेशी महिलाहरुको प्रोफाइल पिक्चरको रुपमा प्रयोग गरी युरोप, अमेरिका, क्यानाडालगायतका विभिन्न देशका पुरुषलाई साथी बनाई घनिष्ट मित्रता कायम गरी अनलाइन प्लाटफर्म हासप्याकमार्फत क्रिप्टो कारोबार गरेकाे पाइएपछि पक्राउ परेका हुन् ।

उनीहरूले विनान्स, टष्ट वालेटलगायतका डिजिटल वालेटहरुमा अमेरिकी डलर जम्मा गरी सोमार्फत क्रिप्टो करेन्सीमा लगानी तथा सोको कारोबार जस्ता क्रियाकलाप सञ्चालन गर्ने गरेको सीआईबीले जानकारी दिएकाे छ ।