काठमाडौं – नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिनको दोस्रो सत्रका सहभागीहरुले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आवद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनको दोस्रो सत्रमा विज्ञहरुले अन्तरदेशीय पूर्वाधार आवद्धतामा जोड दिएका हुन् ।
क्षेत्रीय पूर्वाधार र त्यसको एकीकरण (इन्टिग्रेशन) सत्रमा भारतका लागि नेपालका पूर्वराजदूत तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले क्षेत्रिय पूर्वाधारको विकासमा जोड दिए । उनले दक्षिण एसिया जनसंख्या र भूगोलको रुपमा ठूलो क्षेत्र भएर पनि पूर्वाधार विकासको रुपमा सबैभन्दा न्यून अन्तरआवद्धता र एकीकृत भएको क्षेत्रको रुपमा रहेको बताए । ‘दक्षिण एसिया क्षेत्रीय व्यापार वृद्धि गर्न यहाँका देशहरुबीच यातायात आवद्धतालाई वृद्धि गर्नुपर्नेछ,’ उनले भने ।
न्यून लागत र उच्च प्रतिफल प्राप्त गर्नको लागि रेल यातायात, पानीजहाज, एकीकृत जाँचचौकी र डिजिटल आवद्धतालाई पनि उच्च प्राथमिकता दिनुपर्नेमा डा. शर्माले जोड दिए । ‘नेपालको सन्दर्भमा दक्षिण एसियाका अन्य देशहरुसँग विद्युत प्रसारणलाइन निर्माणमार्फत एकीकरण गर्नुपर्नेछ । पछिल्ला वर्षहरुमा नेपाल र भारतबीच विद्युत व्यापार वृद्धि हुदै गएको र यसलाई अझ प्रवद्र्धन गर्नुपर्नेछ । बंगलादेशले चाहेर पनि प्रसारणलाइन नहुँदा नेपालले विद्युत निर्यात गर्न सकेको छैन ।
यसले पनि देशहरुबीच पूर्वाधार एकीकरणको महत्व प्रष्ट पारेको छ,’ उनले भने । पूर्वाधार परियोजना निर्माणको लागि निजी क्षेत्र र वित्तीय संस्थाहरुको लगानी वृद्धि गर्नमा पनि उत्तिकै प्राथमिकता दिनुपर्ने डा. शर्माले बताए । क्षेत्रीय पूर्वाधारहरुले दिने सेवाको एकीकरणबिना यी क्षेत्रका देशहरु र सहरहरु जोडिन नसक्ने भन्दै उनले दक्षिण एशियामा लगानी न्यूनता (ग्याप) पनि पूर्वाधार एकीकरणमा चुनौती बनेको बताए ।
सत्रको अध्यक्षता गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दक्षिण एसिया क्षेत्रमा यातायात क्षेत्रको विकासमार्फत अन्तरआवद्धता वृद्धि गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘उड्डयन, रेलमार्ग, सडक तथा पानीजहाजको विकासमार्फत आवद्धता वृद्धि गरिनेछ,’ उनले भने, ‘त्यस्तै, बीबीआइएन मोटर भेइकल सम्झौतालाई अघि बढाउने र अन्तरदेशीय व्यापार र अर्थतन्त्रलाई वृद्धि गर्नको लागि आवश्यक काम गर्ने विषय सरकारको प्राथमिकतामा छ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ५७ परियोजना विदेशी सहयोगमा आधारित रहेको जानकारी दिए । पूर्वाधार निर्माण वृद्धि गर्नको लागि निजी क्षेत्रको लगानीलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए ।
सत्रका अर्का मुख्य वक्ता मलेसियाको एयर एसिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत बो लिंगमले एयर एसिया एसियाकै चौथो ठूलो एयरलायन्स कम्पनी भएको र यसले नेपालमा पनि सेवा सुरु गर्ने क्रममा रहेको बताए । ‘यसले नेपालमा ढुवानी र पर्यटन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने र नेपालमा दक्षिण पूर्वी क्षेत्रबाट आउने पर्यटकको संख्या वृद्धि गर्नमा योगदान पुग्नेछ,’ उनले भने ।



About Us
प्रतिक्रिया