काठमाडौं – पीपी प्रसाई टुरिजम लाईफटाइम अचिभमेन्ट अवार्ड २०२४ बाट श्यामबहादुर पाण्डे सम्मानित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आज नेपालको पर्यटन व्यवसायमा करिव पाँच दशक योगदान पुर्याउने श्याम बहादुर पाण्डेलाई मरणोपरान्त पीपी प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०२४ द्धारा सम्मानित गरेकी हुन् ।
पाण्डे होटल संघ नेपालका पूर्व अध्यक्ष, सांग्रिला होटलका संस्थापक तथा नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए । यसैगरि हरेक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ठ शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ठ शिक्षक पुरस्कार– २०८१’ यो वर्ष कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका मातृका प्रसाद दाहाल सम्मानित भएका छन् ।
यस्तै मधेश प्रदेशबाट जनता माध्यमिक विद्यालय सिराहाका राम कृपाल महतो, बागमती प्रदेशबाट महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताल, गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य र लुम्विनि प्रदेशबाट कालिका मनविज्ञान माध्यमिक विद्यालय बुटवलका युवराज कंडेल सम्मानित भएका छन् ।
यसैगरी, कर्णाली प्रदेशबाट अमरज्योति माध्यामिक विद्यालय सुर्खेतका अशोक कुमार राई र सुदुरपश्चिम प्रदेशबाट सरस्वति माध्यमिक विद्यालयकी चन्द्रकला दवाडी सम्मानित भएका छन् । यसैगरि राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहान पुरस्कार प्रदान गरिएको छ ।
प्रतिष्ठानले हरेक वर्ष शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ठ विद्यालय पुरस्कार सहित एक लाख नगद र सातै प्रदेशमा एक–एक जनालाई उत्कृष्ठ शिक्षक पुरस्कार सहित पचास हजार नगद र सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।
देशभरबाट आवेदन माग गरेर शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षाप्रति उनीहरुको प्रतिवद्धता, शिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्व शिक्षक, पूर्व प्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्दछ ।
जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योती प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रहोत्साहन गर्न स्वर्गिव पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो । यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने पीपी प्रसाई फाउण्डेसनको योजना रहेको छ ।
पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पीपी प्रसाई फाउण्डेसनको गठन गरिएको हो ।
प्रतिक्रिया