रामपुर – पाल्पाको रामपुर नगरपालिकामा देउसी भैलो खेलेर सङ्कलित रकम सामाजिक क्षेत्रमा लगानी गरेको छ । रामपुर नगरपालिका–१० स्थित राहुडाँडाका चेतनशिल आमा समूहले गत वर्ष देउसी भैलो खेलेर सङ्कलन गरेको रकमले सामाजिक हितका लागि समूहको भवन निर्माणमा लगानी गरेका हुन् ।
समूहका लागि बैठक बस्न, विभिन्न गतिविधि सञ्चालन गर्न तथा सामान राख्न भवन आवश्यक परेकाले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकमले भवन निर्माण गरिएको चेतनशिल आमा समूहका अध्यक्ष विष्णुमाया खाम्चाले बताइन् । देउँसी भैलोबाट उठेको रकम सही ठाउँमा लगाइएको छ, देउसी भैलोबाट सङ्कलित रकमले मात्रै भवन निर्माण सम्पन्न नहुने भए पछि भवन निर्माणमा रामपुर नगरपालिका, विभिन्न स्थानीय सङ्घसंस्थाको सहयोग रहेको छ’ , उनले बताइन् ।
कुल १६ लाख ६० रुपैयाँ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । रामपुर नगरपालिकाको ६ लाख ५० हजार रुपैयाँ , चेतनशिल आमा समूहको ६ लाख २० हजार रुपैयाँ , बाबा समूहको एक लाख रुपैयाँ, सिर्जनशील युवा क्लवको २० हजार रुपैयाँ तथा स्थानीयको श्रमदानमा भवन निर्माण गरिएको निर्माण समितिका संयोजक भुवान सिञ्जालीले जानकारी दिए।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हालै नवनिर्मित भवन उद्घाटन गर्दै जनतासँग जोडिएर सामाजिक क्षेत्रका काममा नगर सरकारले सहयोग गर्दै आएको बताए । जनताले राहत र सुविधा लिने कार्यमा नगर सरकारले कुनै पनि कन्जुस्याई नगरीकन काम गर्दै आएको थापाले भने ।
‘स्थानीय सरकार जनताको आफ्नै सरकार हो भन्ने अपनत्व दिने गरी नगरपालिकाले काम गरिरहेको छ, स्थानीय सरकारबाट बनेका संरचनाको बेला–बेलामा अनुगमन गर्ने र आवश्यकताको आधारमा पूर्वाधार निर्माणमा वजेट विनियोजन गर्ने काम भइरहेको छ’ नगर प्रमुख थापाले जानकारी दिए । भवन निर्माण सम्पन्न भएपछि विभिन्न समूह, क्लब, टोल विकास संस्थालगायत विभिन्न संस्थाको बैठक बस्न, तालिम सञ्चालन गर्न, विभिन्न कार्यक्रम गर्न सजिलो हुने भएको छ । रासस
प्रतिक्रिया