काठमाडौं – आर्थिक वर्ष २०७९।८० मा नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भारतबाट प्राप्त भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले सबैभन्दा बढी लगानी भारतबाट भित्रिएको हो । प्रतिवेदनअनुसार समीक्षा वर्षमा भारतको १ खर्ब ३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ। यो कुल वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा हो। समीक्षा वर्षमा नेपालमा कुल २ खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक लगानी आएको छ।
दोस्रोमा चीन रहेको छ। चीनले नेपालमा ३५ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ। चीनको हिस्सा १२ प्रतिशत रहेको छ। यसैगरी समीक्षा वर्षमा आयरल्यान्डबाट २२ अर्ब ६२ करोड रुपैयाँ, अस्ट्रेलियाबाट १९ अर्ब ६ करोड रुपैयाँ र सिंगापुरबाट १८ अर्ब ८१ करोड रुपैयाँ नेपालमा वैदेशिक लगानी रहेको देखिन्छ। दक्षिण कोरियाबाट १३ अर्ब ८७ करोड रुपैयाँ लगानी भित्रिएको छ । जुन ४.७ प्रतिशत हिस्सा हो ।
वैदेशिक लगानीको ठूलो हिस्सा औद्योगिक क्षेत्रमा गएको देखिन्छ। यो क्षेत्रमा ५९.७ प्रतिशत लगानी भएको छ। औद्योगिक क्षेत्रमा पनि जलविद्युतमा ३० प्रतिशत र उत्पादनमा २९.४ प्रतिशत वैदेशिक लगानी गएको प्रतिवेदनमा उल्लेख छ। आर्थिक तथा वित्तीय क्षेत्रमा २६ प्रतिशत, सूचना तथा प्रविधि क्षेत्रमा ६.७ प्रतिशत लगानी भित्रिएका छन् ।
प्रतिक्रिया