काठमाडौं – लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा। डा। सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनका विविध आयामहरुमा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि प्रतिष्ठित सिद्धार्थ बिजिनेस ग्रुपसँग सहकार्य सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यसप्रकारको सहकार्यबाट विश्वविद्यालयले अझ धेरै प्राज्ञिक विशिष्टता हाँसिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा राखिएको उनले बताए ।
‘अध्ययन पूरा गरिसक्दा यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन होस् भन्ने हाम्रो चाहना हो, प्लस टुपछि उच्च शिक्षाका लागि प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थीहरु विदेश पलायन भैरहेका छन् । यस सहकार्यमार्फत विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्न पाउने भएकाले उनीहरुलाई केही हदमा भए पनि स्वदेशमै रोक्न सकिनेमा हामी विश्वस्त छौँ ।’ सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले भने ।
विद्यार्थीले चार वर्षे कोर्समा पहिलो सेमेस्टरमा बौद्ध दर्शनसँगै होटल व्यवस्थापनबारे आधारभूत ज्ञान लिनेछन् । दोस्रो सेमेस्टरदेखि उनीहरुले पढ्दै पैसा कमाउन सक्ने गरी कोर्स डिजाइन गरिएको सिद्धार्थ बिजिनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । यस कोर्समा विद्यार्थीहरुले पर्यटन व्यवस्थापन पनि पढ्न पाउनेछन् ।
‘विद्यार्थीले पढाइका लागि गर्ने कुल खर्चमध्ये अधिकांश खर्च पढाइ पूरा गर्दा रिकभर गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो, सोहीअनुसार कोर्स पनि डिजाइन गरिएको छ’, सिइओ न्यौपानेले भने, ‘विद्यार्थीहरुले सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रिसोर्ट एवं क्याफेमा प्रयोगात्मक कक्षा लिँदै कमाउन सक्नेछन् ।’
विश्वविद्यालयअन्तर्गत पर्यटन तथा आतिथ्य विषय समितिका अध्यक्ष डा। श्रीप्रसाद भट्टराईले विद्यार्थीको ज्ञान, सीप र व्यवहार तीन वटै पक्षको प्रभावकारी सिकाइ र मुल्याङ्कन हुने गरी कोर्स डिजाइन गरिएको बताए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण समेत गरिदिने र उनीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न पनि सक्ने गरी योजना बनाइएको सिद्धार्थ बिजिनेस ग्रुपका सिइओ न्यौपानेले उल्लेख गरे ।
हस्पिटालिटी क्षेत्रमा नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै सिद्धार्थ ग्रुपअन्तर्गत अन्तर्राष्ट्रियस्तरको गुणस्तरीयता, चेन होटल, पाँच तारे होटलसहितको सुविधालगायतका विशेषताको उच्च मूल्यांकन गरी सहकार्य गरिएको विश्वविद्यालयका डिन प्रा.डा. हरिशरण चंखुले बताए ।



About Us
प्रतिक्रिया