कर्जा प्रवाह नहुँदा पनि निजी क्षेत्रको आत्मविश्वास जगाउनु अहिलेको चुनौती हो : अर्थमन्त्री पौडेल

कर्जा प्रवाह नहुँदा पनि निजी क्षेत्रको आत्मविश्वास जगाउनु अहिलेको चुनौती हो : अर्थमन्त्री पौडेल


काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदासमेत कर्जा प्रवाह नभएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन, पुँजीगत खर्च र राजश्वलगायतका सूचकहरु घटेको अवस्था रहेको पनि औंँल्याए ।

उनले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदासमेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौती रहेको बताए । उनले उद्योगीहरु नयाँ क्षेत्रमा लगानी गर्नेभन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा रहेकाले कर्जा प्रवाह हुन नसकेको बताए ।

अर्थमन्त्री पाैडेलले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार भएकाले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताए । निजी क्षेत्रले सरकारप्रति आशा,भरोसा र विश्वास गरे त्यहाँका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहलकदमी लिने बताए ।

उनले निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कनसक्ने विश्वास दिन आग्रह गरे। उनले सरकार सबैको अभिभावक भएकोले अभिभावकको भूमिका निर्वाह गर्ने बताए। अर्थमन्त्रीसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सले कर्जाको पुनर्तालिकीकरण गरेर धराशायी उद्योग बचाउन माग गरेको छ ।

चेम्बरले आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति ध्यानाकर्षण गरायो।

च्याम्बरले खराबसूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसायको प्रकृति हेरेर केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्नुपर्ने माग राख्यो। कर्जाको पुनःतालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरुमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धराशायी हुनबाट जोगाउनुपर्ने चेम्बरको माग छ।