रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समलाई

रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समलाई


काठमाडौं – रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समले जितेका छन् । राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । यससँगै, आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले भने, ‘रियलमी मिस्टर नेपाल २०२४ को शीर्ष उपाधी जित्न सफल भएकोमा सन्तोषलाई धेरै–धेरै बधाई दिन चाहन्छौँ ।’ मिस्टर नेपाल एउटा प्रतियोगिता मात्र नभएर युवाहरुको समग्र व्यक्तित्वको पहिचान र उच्च मुल्यांकन गरिने कम्पनीले जनाएको छ ।

प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यस्तै, काठमाडौंका आयुष दुलालले ‘म्यान अफ द वल्र्ड’ नेपाल चुनियर ‘म्यान अफ द वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन् । योगेश र आयुष दुवैले तीन लाख रुपियाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट र हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप बनेका छन् । आयुष बोमजन मस्ट पपुलर, सन्तोष लोक्सम म्यान अफ एलिगेन्स, प्रकाश चौहान मस्ट एक्टिभ र समिर तिमिल्सिना वेस्ट स्किन बनेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फोटोग्राफर राजभाई सुवाल र उद्यमी टिकाराम बुढाथोकी निर्णायक थिए ।

यस्तै, अभिनेत्री,मोडल एवं रियलमीको ब्रान्ड एम्बास्डर नीति शाह, पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिस्टर नेपाल डा. रूपक घिमिरे र सन्दीप पोखरेल निर्णायक रहेका थिए । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।