दाङ – मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्न सक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्न सकिन्छ भन्ने सबैलाई थाहा छैन ।
तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आएकी छन् । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएकी छन् ।
सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँ काम सुरु गरेको बताइन् ।
‘घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरूसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ’, उनले भनिन् । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनी बताउछिन् ।
मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छन् ।
यो व्यवसायबाट दैनिक एक हजाररूपैयाँ देखि एक हजार पाँच सय रूपैयाँ सम्म आम्दानी हुने भएकाले मासिक २०–२५ हजार रूपैयाँ बढीको कारोबार गर्दै आएको उनले बताए ।’ मासिक१०–१२ हजार रूपैँया बचत हुने गरेको छ’ उनले भने । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उनले बताए ।
प्रतिक्रिया