काठमाडौं – नेपाल राष्ट्र बैंकको थापाथलीस्थित निर्माणाधीन भवनको भल्ट र सोसँग सम्बन्धित सुरक्षा प्रणाली व्यवस्थापनको जिम्मेवारी बतास ग्रुपले पाएको छ । केन्द्रीय बैंकले साेमबार एक सूचना जारी गर्दै निर्माणाधीन भवनका लागि आवश्यक भल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम खरिद गर्न जारी गरिएको बोलपत्रमा परेको दरखास्तहरूमध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीको रूपमा बतास ट्रक्टर्स प्राली छानिएकाे केन्द्रीय बैंकले जानकारी दिएकाे हाे ।
राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ५० लाख १२ हजार रुपैयाँमा बोलकबोल हालेको थियो । बैंकद्वारा जारी सूचनामा भनिएकाे छ,’यस बैंकको थापाथलीस्थित निर्माणाधिन भवनको भल्ट र सो सँग सम्बन्धित सुरक्षा प्रणाली खरिद गर्न जारी गरिएको बोलपत्रको लागि पेश हुन आएका बोलपत्रहरु मध्ये श्री बतास ट्रक्टर्स प्राली, गैरीधाराले पेश गरेको स्वीकृत गरिएकाे छ ।’
प्रस्तावित बोलकबोलहरूमध्ये यो न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र नेपाल राष्ट्र बैंक, खरिद विनियमावली २०७१ (संशोधन समेत) को विनियम ५४ बमोजिम उक्त बोलपत्रदाताको प्रस्ताव स्वीकृत हुने आशयसहितको ब्यहोरा सबैमा जानकारी गराएकाे केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया