काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्ना सेवाग्राहीलाई अधिकांश बैंकिङ्ग सेवा वेबसाइटमार्फत् उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ। सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङ्गतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई वेबसाइटमार्फत् अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो ।
बैंकले केहि दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज डिजिटल युनिभर्स सञ्चालनमा ल्याएको थियो । जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेका छन् । यसै विषयमा ग्लोबल आईएमई बैंकका डिजिटल इनोभेसन एवम् ट्रान्फमेसन रितेश लामिछानेसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंश:
डिजिटल युनिभर्स के हो ? यसको आवश्यकता किन पर्यो ?
डिजिटल युनिभर्सको कुरा गर्दा यसको आवश्यकता किन पर्यो भन्ने कुरामा हामी जानुपर्यो । यसको लागि बैंकिङ्ग सेवामा टेक्नोलोजि कसरी प्रयोग भइरहेको छ ? टेक्नोलाजिको विकास सँगसँगै ग्राहकहरुको आवश्यक्ता अथवा छिटो, छरिता खालको सेवा सुविधा खोजिरहेका हुन्छन्। त्यसका साथसाथै बैंकिङ्ग सेवा शाखाहरुबाट मात्रै दिने भन्ने कुरा पनि भएन।
हामीले पनि हाम्रो सेवाहरुलाई परिमार्जन गर्दै टेक्नोलोजिसँग जोड्दै सेवाग्राहीलाई छिटो सुविधा दिने भन्ने हुन्छ । टेक्नोलोजिमा भएको विकासँगै डिजिटल युनिभर्सको परिकल्पना गरेको हो । युनिभर्सको एक पाटो भनेको घर–अफिसमा नै बसेर २२ वटा बैंकिङ्ग सेवाहरु लिन सक्ने सुविधा हामीले दिएका छौं । यसको कन्सेप्ट भनेको ग्राहक प्रविधिमा हुनुहुन्छ र बैंकले डिजिटलरुपमा सेवा दिनुपर्छ भन्ने चाहना राख्ने ग्राहकको आवश्यकतालाई नै हेरेर यो डिजिटल युनिभर्स सञ्चालनमा ल्याएइएको हो ।
नेपाल राष्ट्र बैंकले नै मौद्रिक नीतिमा पनि एआईको राम्रोसँग प्रयोग गर्न प्रोत्साहन गर्छौ भनेको छ । तपाईँहरुले डिजिटल बैंकिङ्गमा एआईको उपयोग कसरी गर्ने तयारी गर्नुभएको छ ?
विश्वभरिको प्रयोग र अभ्यासलाई हामीले नियाल्ने हो भने धेरैभन्दा धेरै बैंकहरुले व्यवसायको लागि, जोखिम व्यवस्थापनको लागि लगायतका विषयको लागि एआईको प्रयोग गर्ने गरेको देखिन्छ। एआईको प्रयोगको लागि विदेशका बैंकहरुले ‘गाइडलाइन्स’ भित्र बसेर काम गरेको हामीले देखेका छौं । हामीले पनि ग्लोबल आईएमई बैंकमा कसरी हाल गरिरहेको कामलाई सहज बनाउने भनेर एआईको प्रयोग गर्न थालिसकेका छौं ।
एआईको लागि आफ्नै खालको गाइडलाइन्सहरु बन्नु पर्दछ । स्वागतयोग्य कदम भनेको केन्द्रीय बैंकले पनि मौद्रिक नीतिमै एआईको प्रयोग गर्न सक्ने सम्भावनालाई औल्याएको छ । एआईको प्रयोग गर्न बृहत किसिमको गाइडलाइन्स बनाउन सकियो भने यसले दिने लाभ सबैले अधिकतम लिन पाउछन् भन्ने हाम्रो विश्वास छ ।
डिजिटल बैंकिङ्गको महत्व बढ्दै गएको अवस्थामा साइबर सुरक्षामा पनि धेरै चुनौति छ, यसरलाई कसरी व्यवस्थापन गरिराख्नु भएको छ ?
बैंकिङ्ग भनेको जोखिमयुक्त व्यवसायह हो । जोखिम सबै क्षेत्रमा भएपनि बैंक अलि बढी जोखिमपूर्ण छ । प्रविधि बढ्दै गएसँगै बैंकहरुमा चूनौती र जोखिम बढ्दै गइरहेको छ । तर यसअघि प्रविधिको बढ्दो प्रयोगसँगै बढेको जोखिम र चूनौतीलाई खासै ध्यान दिइएको थिएन । त्यसले जोखिम त पक्कै निम्त्याएको छ । जोखिम कस्तो छ भने यसको लागि बैंकले धेरै नै गम्भिर भएर राम्रै किसिमको रणनिती नै बनाएर काम गर्नुपर्दछ । हामी टेक्नोलोजिमा देखिने जोखिम व्यवस्थापनको लागि अगाडी बढिसकेका छौं । बैंकले जोखिम व्यवस्थापनमा पनि धेरै लगानी गर्नुपर्ने हुन्छ । जोखिम न्यूनीकरणका लागि साइबर सुरक्षाको विभाग पनि खडा गर्नुपर्ने अवस्था आउन सक्छ ।
यस्तो सेवा उपभोग गर्न हाम्रा ग्राहकहरु प्रविधिमैत्री छन् त ?
प्रविधि भनेको निरन्तर रुपमा चलिरहने एउटा प्रक्रिया हो। आज एउटा प्रविधि आउँछ र सो प्रविधिसँग अभ्यस्त भइनसक्दै परिवर्तन भइसक्छ । सोहीकारण प्रविधिसँग पूर्णरुपमा जोडिन मुस्किल छ । अझै हामिजस्तो विकासशील राष्ट्रमा पूर्वाधार अभावदेखि धेरै चूनौती छन् । यसमा ग्लोबल आईएमई बैंकको कुरा गर्ने हो भने राष्ट्र बैंकको निर्देशन पालना गर्दै सबै शाखाहरुमा ‘डिजिटल लिट्रेसी’को कामहरु गर्दै आएका छौं । प्रविधीमैत्री बनाउन हाम्रा ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रमहरु शाखामार्फत चलाइरहेका छौं । युवाहरु प्रविधिमैत्री नै भएकाले भविष्यमा सजिलो भएर जाने छ भन्ने लाग्छ ।
हालसम्म ग्राहकहरुको प्रतिक्रिया कस्तो पाइराख्नु भएको छ ?
सेवाग्राहीमार्फत हामिले उत्साहजनक प्रतिक्रिया पाइरहेका छौं । डिजिटल युनिभर्स सार्वजनिक भएपछि पाएको प्रतिक्रियाबाट यसलाई झनै वृहत्तरढंगले अघि लैजाने लक्ष्य कम्पनीले बनाइरहेको छ ।
प्रतिक्रिया