काठमाडौँ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कूल ६४ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार २० वटा बैंकले कूल ६४ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका हुन् ।
गत आर्थिक वर्षमा १० वटा बैंकको मात्रै अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा नाफा बढेको छ । बाँकी १० वटा बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको विवरण सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७९/८० मा यी बैंकहरुको कूल नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ थियो ।
यो गत आर्थिक वर्षको तुलनामा ७ अर्ब १८ करोड रुपैयाँभन्दा बढीले आएको वृद्धि हो। यसले १० वटा बैंकको नाफा घटेपनि समग्रमा वाणिज्य बैंकहरुको नाफाको दर बढेको देखाउँछ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको नाफा १३.३९ प्रतिशतले बढेको हो ।
यी हुन् नाफा बढाउने बैंक
गत आर्थिक वर्षमा नबिल बैंकको नाफा उल्लेख्यरुपमा बढेको छ । बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६६ करोड रुपैयाँको वृद्धि हो । यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्ष ३ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यसैगरी, प्रभु बैंकले शतप्रतिशत नाफा बढाउँदै ४ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ४८ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । यस्तै लक्ष्मी सनराईज बैंकले समेत नाफा बढाएको छ । यो बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यसबाहेक हिमालयन बैंकले सो अवधिमा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले जम्मा ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो भने कृषि विकास बैंकको नाफा समेत बढेको छ । गत आर्थिक वर्षमा यो बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसबाहेक कुमारी बैंकको नाफा २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यो बैंकले जम्मा ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यता एभरेष्ट बैंकको नाफा समेत बढेको छ । यो बैंकको नाफा ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसका साथै नेपाल एसबीआई बैंकको नाफा समेत बढेको छ । वित्तीय विवरणबमोजिम एसबीआईले २ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षमा ९६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नाफा खुम्चिएका बैंक
१० बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढाउँदा १० बैंकको खुम्चिएको छ । नाफा खुम्चिनेमा ग्लोबल आईएमई बैंक समेत छ । तर नाफा खुम्चिएपनि यो बैंकले ६ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ६ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको थियो । यस्तै सिद्धार्थ बैंकको नाफा ३ अर्ब १६ करोड रुपैयाँबाट ३ अर्ब १ करोडमा झरेको छ ।
गत वर्ष स्ट्याण्डर्ड चार्टड बैंकले ३ अर्ब ३० करोड नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै राष्ट्रि वाणिज्य बैंकको नाफा ३ अर्ब ५९ करोड रुपैयाँबाट ३ अर्ब ३९ करोड रुपैयाँमा आइपुगेको छ ।
एनएमबी बैंकको नाफा ३ अर्ब २२ करोडबाट २ अर्ब २३ करोड रुपैयाँमा खुम्चिएको छ । यस्तै सानिमा बैंकको नाफा २ अर्ब ५० करोड रुपैयाँबाट २ अर्ब ६८ करोड रुपैयाँमा आइपुगेको छ । यस्तै सिटिजन्स बैंकको नाफा १ अर्ब ३४ करोडमा सिमित बनेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ८६ करोड रुपैयाँ कायम थियो ।
एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ४४ करोड रुपैयाँबाट १ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ भने नेपाल बैंकको नाफा ३ अर्ब ४३ करोड रुपैयाँबाट १ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ ।
‘नम्बर वान नबिल’, दोस्रोमा ग्लोबल
सार्वजनिक भएको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकको सूचीमा नबिल पहिलो छ । यो बैंकले सो आर्थिक वर्षभरीमा ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै सबैभन्दा धेरै नाफा कमाउने बैंकहरुको सूचीको दोस्रो नम्बरमा ग्लोबल आईएमई छ । यो बैंकले गत आर्थिक वर्षमा ६ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपी बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्षमा ग्लोबलले ६ अर्ब ६९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यो ६८ करोड रुपैयाँको गिरावट हो ।
प्रतिक्रिया