चालु आव मौद्रिक नीत : मुद्रास्फीतिलाई ५ प्रतिशत कायम गरिने

चालु आव मौद्रिक नीत : मुद्रास्फीतिलाई ५ प्रतिशत कायम गरिने


काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रास्फितीलाई ५ प्रतिशतको हाराहारीमा कायम गर्ने जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रयमाससम्म मूल्यमा चाप परेको भएतापनि दोस्रो त्रयमासदेखि क्रमिक रुपमा सुधार हुँदै २०८१ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीतिको तुलनामा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीतिमा बढी सुधार देखिएको छ ।

भारतमा थोक तथा उपभोक्ता मुद्रास्फीति स्थिर रहेको, आयात मूल्य सूचकाङ्क र तलब तथा ज्यालादर सूचकाङ्कको वृद्धिदरमा कमी आएको र आन्तरिक मागसमेत कमजोर रहेका कारण उपभोक्ता मुद्रास्फीति कम रहन गएको राष्ट्र बैंकले उल्लेख गरेकाे छ । नेपालमा पछिल्लो समय थोक मुद्रास्फीति बढ्न शुरु भएको, भारतमा खाद्यान्न, तरकारी तथा गेडागुडी र दालजन्य सामग्रीहरुको मूल्य उच्च रहेको र जारी रुस–युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनैतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम भने रहेको माैद्रिक नीतिमा उल्लेख छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ । केही जोखिम रहेपनि मुद्रास्फीतिका कारकहरुलाई मध्यनजर राख्दा आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीतिसोही सीमाभित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ ।